गृहपृष्ठ पटक-पटक सडकमै

पटक-पटक सडकमै

'सबै सम्पत्ति दिदीभिनाजुले बेचिदिए'

दैलेख घर बताउने जैसरा सुनारलाई सडकबाट मानव सेवा आश्रम कर्णाली प्रदेशले उद्धार गरेको छ । सडकको नारकीय जीवनबाट आश्रमले उद्धार गरेपछि उनी नयाँ जीवन मिलेको बताउँछिन् । जैसरा भन्छिन्, ‘सडकमा माग्दै हिँड्थेँ । कतिले दिन्थे त कतिले गाली गर्दै भगाउँथे ।’

सडकमा नुहाउने र राम्रो लगाउने कल्पना नगरेकी जैसरालाई आश्रमको बसाइ घरजस्तै लागेको छ । ‘सडकमा फालेको खाना खान्थेँ । आश्रममा राम्रै खान पाएकी छु,’ उनी भन्छिन् । अब जैसरालाई आश्रम छोड्न मन छैन ।

जुम्लाका मशु दमाई शारीरिक अपांगता भएका कारण सडकवासमा आइपुगेका थिए । पारिवारको अत्तोपत्तो नभएका उनले पनि आश्रममा पारिवारिक वातावरणमा बस्न पाएका छन् । ‘मलाई शरीरमै दिशापिसाव आउँछ । यहाँ ओछ्यानमै दिशापिशाव आए पनि धोइदिनुहुन्छ,’ दमाई भन्छन् । शरीरको तल्लोभाग नचल्ने उनलाई आश्रमले उपचार समेत गर्दै आएको छ ।

दाङको गोरुसिङे घर बताउने पुण्यप्रसाद न्यौपानेको पनि आश्रमको स्नेहले मन पगालेको छ । ‘पानीपर्दा चिसो कपडामा सुत्नुपर्थ्यो,’ उनले भने, ‘तर आश्रममा न्यानो कपडामा सुत्न पाइएको छ ।’ आमाबुवाको मृत्यु भएपछि भएको सबै सम्पत्ति दिदीभिनाजुले बेचिदिएकाले आफू सडकमा आएको न्यौपाने बताउँछन् ।

सडकमा धेरैले लात्तीले हान्दै गाली गरेको सुनाउँदै उनले आश्रममा माया पाउँदा खुशी लागेको बताए । चिसो सडकको पेटीमा सुतेर अरुले फालेको खाना खाँदै सडकमै रात बिताएका उनी आश्रममा गरिएको स्याहारसुसारले दंग छन् ।

जैसरा, मशु र पुन्यजस्तै कर्णाली प्रदेश मानव सेवा आश्रममा ५० जनाले आश्रय लिइरहेका छन् । आश्रमकी जिल्ला संयोजक सञ्चिता गौतमका अनुसार १८ महिला र ३२ पुरुष तथा ३ जना बालबालिकासमेत आश्रममा बस्दै आएका छन् । आश्रममा रहेकाहरु धेरैजसो मानसिक रोगी र अपांगता भएकाहरु रहेको गौतमले बताइन् ।

आश्रमले ३६ जनालाई पारिवारिक पुनर्मिलनसमेत गराएको छ । ‘हामीले सडकबाट ल्याएर सरसफाईसँगै मानसिक रोगको उपचारसमेत गर्ने गरेका छौंँ । उद्धार, पालपोषण, उपचार तथा पारिवारिक पुनर्मिलन हाम्रो प्रमुख काम हो,’ गौतम भन्छिन् । आश्रम स्थापनाको समयमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले दशलाख रुपैयाँ सहयोग गरेको र वीरेन्द्रनगर नगरपालिकाले आश्रमको भाडा तिरिदिएको उनले बताइन् । उनका अनुसार अन्य खर्च भने सहयोगी दाताहरुबाट संकलन भएको थियो ।

पटक-पटक सडकमा

साविकको लालीकाँडा गाविसअन्तर्गत पर्ने गर्चा दैलेख (हाल वीरेन्द्रनगर- ११, सिमलकुना)का हिक्मत खड्का राम्रोसँग बोल्न र हिँड्न सक्दैनन् । परिवारमा बुवाआमा र दाजुभाई छन् । उनी आश्रममा तीनपटक आइसकेका छन् । पटक-पटक परिवारसँग पुनर्मिलन गराए पनि हिक्मत सडकमै आउनुको कारण परिवारको वेवास्ता भएको संयोजक गौतम बताउँछिन् ।

पारिवारिक पुनर्मिलन गराइसकेपछि पनि सडकमा आउनेहरुको संख्या बढ्दै गएको आश्रमकी प्रदेश संयोजक सीर्जना ओलीले बताइन् ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु