गृहपृष्ठ कर्णाली सहयोगापेक्षी मानवरहित प्रदेश घोषणा
कर्णाली सहयोगापेक्षी मानवरहित प्रदेश घोषणा
कर्णाली प्रदेश सहयोगापेक्षी मानवरहित प्रदेश घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्व तथा मानवसेवा आश्रम कर्णाली प्रदेशको समन्वयमा शनिबार उक्त घोषणा गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेत, जिल्ला समन्वय समिति, प्रदेश प्रहरी कार्यालय लगायतका संघसंस्थाहरुले समेत अभियानमा समन्वय गरेका छन् । २०७५ साल माघ १८ गते सामाजिक विकास मन्त्रालय तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा मानवसेवा आश्रम स्थापना भएको हो ।
आश्रम स्थापना भएको एक वर्षमै प्रदेशलाई नै सहयोगापेक्षी मानवरहित प्रदेश घोषणा गर्नको लागि गत मंसिर २८ गते कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । उक्त निर्णयपश्चात् अभियानलाई सफल बनाउन सामाजिक विकास मन्त्रालयको नेतृत्वमा जिल्ला तहमा अन्तक्र्रिया कार्यक्रम गरी विधिवत रुपमा शनिबार घोषणा गरेको मन्त्रालयका सचिव डा. मानबहादुर विकेले जानकारी दिए ।
कर्णाली प्रदेशको राजधानी लगायतका विभिन्न स्थानहरुमा सडकमा मानवहरु बेवारिसे अवस्थामा भेटिने गरेको र मानवको सेवा गर्ने संस्थाहरुको खोजी गर्ने क्रममा मानवसेवा आश्रमले त्यसको जिम्मा लिएको सचिव विकेले बताए । उनले कुनै पनि मानव अब कर्णालीका सडकमा नभेटिने गरी काम अगाडि बढाउने जानकारी दिए ।
बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त कर्णाली प्रदेश घोषणा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउनको लागि घोषणा कार्यक्रम गरिएको बताए । उनले जोकोहीको पनि असक्त हुने अवस्था आउने भन्दै नागरिकलाई असक्त भएको अवस्थामा सरकारले सेवाको जिम्मेवारी लिने बताए । ‘सरकार बालबालिका र अपांगता भएकाहरुको बारेमा समेत सोच्दैछ,’ उनले भने, ‘कर्णालीका हरेक जिल्लामा मानवसेवा आश्रमको बिस्तार गरी सम्बन्धित जिल्लाका सहयोगापेक्षीहरुको सेवा गर्ने तयारी छ ।’

मुख्यमन्त्री शाहीले आश्रममा पारिवारिक वातावरण दिने भन्दै सेवामा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनका अनुसार कर्णाली प्रदेशका दशवटै जिल्लामा मानवसेवा आश्रमका भवन निर्माण गरी जिल्लागत रुपमा सेवा बिस्तार गरिनेछ ।
सामाजिक विकासमन्त्री दल रावलले निजी अभियन्ताहरुले समेत अभियान सञ्चालन गर्दा राज्यले किन अपनत्व नलिने भन्ने उद्देश्यले यो अभियानलाई साथ दिएको बताए । उनले तीनै तहका सरकारले यस्ता अभियानमा सहयोग गर्नुपर्ने बताए ।
धेरै अभियानहरु औपचारिक रुपमा घोषणा गरे पनि कार्यान्वयन नहुने भन्दै सडकमा भएका मानवहरुको उद्धारमा सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताए । उनले आफ्नो लागि काम गर्नुभन्दा अरुको लागि काम गर्नेहरु नै सच्चा मानव भएको बताए ।
मानवसेवा आश्रममा हाल ५० जना सहयोगापेक्षी मानवहरु रहेको र यसअघि ३६ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको आश्रमकी जिल्ला संयोजक संञ्चिता गौतमले जानकारी दिइन् । आश्रमको स्थापना गर्नको लागि सामाजिक विकास मन्त्रालयले यसअघि १० लाख रुपैयाँ सहयोग गरेको थियो भने वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आश्रमको भाडा मासिक ५० हजार तिरिरहेको छ ।
प्रकाशित समय ०९:०५ बजे

















