गृहपृष्ठ आत्मनिर्भर भए महिला हिंसा अन्त्य

आत्मनिर्भर भए महिला हिंसा अन्त्य

आर्थिक रुपमा आत्मनिर्भर भए महिला हिंसा अन्त्य हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । शनिबार वीरेन्द्रनगर– १० वडा कार्यालयले आयोजना गरेको लैंगिक विभेद तथा महिला हिंसा न्युनीकरण सम्बन्धि १ दिने सचेतनामुलक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा सहभागी शान्ति पोख्रेलले महिला हिंसा अन्त्यका लागि आर्थिक रुपमा समृद्ध हुनुपर्ने बताइन् । ‘समाजमा हिंसाका थुप्रै रुपहरु देखेकी छु,’ उनले भनिन्, ‘हिंसा हुनुको कारण आर्थिक अपनत्व नहुनु हो ।’ पुख्र्यौली सम्पत्तिमा महिलाहरुको पहुँच नहुनु नै हिंसाको कारण बन्ने उनको धारणा थियो । पोख्रेलले स्थानीय तहले महिलाहरुलाई हिंसा न्युनीकरणसम्बन्धी तालिमको साथसाथै सीपमुलक तालिमहरुको आयोजना गर्नुपर्ने बताइन् ।

मिना मल्लले महिलाहरु अर्थतन्त्रसँग जोडिनुपर्ने बताइन् । उनले समाजले महिलालाई दोस्रो दर्जाको रुपमा हेर्नुको कारण सम्पत्तिको स्वामित्व भएको भन्दै यसमा स्थानीय तहले सोच्नुपर्ने बताइन् ।

सहभागी अधिकांशले महिलाहरु आर्थिक रुपमा सक्षम भएमात्रै हिंसा अन्त्य हुने बताएका थिए । वीरेन्द्रनगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले महिलालाई संविधानले धेरै अधिकार दिएको भन्दै अधिकार लिने कुरामाआफैँ सचेत हुनुपर्ने बताइन् । उनले भनिन्, ‘पुरुषकोभन्दा बढी जिम्मेवारी महिलाहरुको छ । अवसर पाए महिलाहरुले पनि धेरै गर्न सक्छन् ।’ अवसरको खोजी गर्ने कुरामा महिलाहरु आफैँ सचेत हुनुपर्ने उनको धारणा रहेको थियो ।

वीरेन्द्रनगर– १० का वडाअध्यक्ष रत्नबहादुर बुढाले महिलाहरुले हिंसा सहन नहुने बताए । उनले कानुनले महिलाहरुलाई धेरै अधिकार दिएको भन्दै हिंसा भएको खण्डमा कानुनी उपचारसमेत लिनुपर्नेमा जोड दिए । कार्यक्रममा वडासदस्य लक्ष्मी विक, सुनिता चौधरी लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा लिङ्ग र पितृसत्ताको विषयमा टिका विष्ट, योजना तर्जूमाको विषयमा पवित्रा शाही, प्रहरीको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले दिने सेवाको विषयमा प्रहरी सहायक निरीक्षक दिला विक र नेपालको संविधानमा भएको महिला हकको विषयमा अधिवक्ता गीता कोइरालाले प्रस्तुतीकरण राखेका थिए ।

प्रकाशित समय १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु