गृहपृष्ठ कार्यालय समयमा कालोपत्रे, यात्रुदेखि ट्राफिकसम्मलाई सास्ती
कार्यालय समयमा कालोपत्रे, यात्रुदेखि ट्राफिकसम्मलाई सास्ती
बानेश्वर क्षेत्रमा कार्यालय समयमा कालोपत्रे गरिँदा शुक्रबार यात्रुदेखि ट्राफिक प्रहरीसम्मले सास्ती पाएका छन् । नयाँ बानेश्वर चोकनजिकको सडक र बिजुली बजारको आर्क ब्रिज क्षेत्रमा बिहान ९ बजेदेखि कालोपत्रे सुरू गरिँदा तीनकुनेदेखि बबरमहल, माइतीघरसम्म जाम भएको छ ।
सामान्य अवस्थामा पनि जामको सास्ती भोग्नुपर्ने यो क्षेत्रमा कार्यालय समयमा कालोपत्रे गरिँदा सवारी ट्रफिक प्रहरीलाई व्यवस्थापन मिलाउन निकै गाह्रो परिरहेको थियो । आर्क ब्रिज क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि खटिएका ट्राफिक प्रहरी निरीक्षक प्रकाशबहादुर सिंह यस्ता कुरामा ख्याल नगरिँदा नागरिकदेखि प्रहरीसम्मले दुःख पाइने गरेको बताउँछन् । ‘हामीले माथिबाट भनेपछि मान्नैपर्छ,’ उनले भने, ‘यस्ता सामान्य कुरा हामीले जानकारी गराउनुपर्ने विषय नै होइन ।’ ट्राफिक प्रहरीहरू विकासका मामिलामा बरु जस्तोसुकै तनाव खेप्न तयार हुने तर विकास विरोधीमा दर्ज नहुने बताउँछन् ।
बानेश्वरको सिभिल हस्पिटलअगाडि सवारी व्यवस्थापनमा जुटिरहेका अर्का ट्राफिक प्रहरी निरीक्षक पुष्कर शर्मामा पनि निकै दबाबमा देखिन्थे । बिहानैदेखि ट्राफिक भद्रगोल भएको उनले बताए । ‘यस्ता कुरा हामीले जानकारी गराउनुपर्ने नै होइन,’ उनले भने, ’सधैं जाम हुने क्षेत्रमा झन् अफिस टाइममा कालोपत्रे गरिदिँदा के हविगत होला ?’
मूल सडक क्षेत्र करिब बन्द गरेर कालोपत्रे गरिएपछि भित्री सडक पनि अस्तव्यस्त छन् । ठिमीबाट नयाँ बानेश्वरमा रहेको कार्यालयका लागि बस चढेकी सरिता श्रेष्ठले आज शान्तिनगरदेखि नै हिँड्नुपरेको बताइन् । ‘यस्ता सामान्य कुरामा पनि किन लापर्बाही गरिन्छ ?’ उनको प्रश्न थियो ।
प्रकाशित समय १०:५६ बजे

















