गृहपृष्ठ चीनमा रहेका नेपाली ल्याउन आज वायुसेवा निगमको विमान जाँदै
चीनमा रहेका नेपाली ल्याउन आज वायुसेवा निगमको विमान जाँदै
चीनमा रहेका नेपालीलाई नेपाल ल्याउन आज नेपाल वायुसेवा निगमको विमान चीनको हुवेई प्रान्तमा जाने भएको छ ।
स्वदेश फर्कन चाहने नेपालीलाई नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजमार्फत् स्वदेश ल्याइने भएको छ ।
सरकारले हुवेई प्रान्तका विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन निगमको वाइडबडी जहाज आज शनिबार अपरान्ह चीन पठाउने भएको हो ।
चीनको वुहानमा रहेका नेपाली लिन आज अपरान्ह २ः४५ बजे निगमको वाइडबडी जहाज चीन उड्नेछ । उक्त जहाज नेपाली लिएर भोलि फागुन ४ गते बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन । निगमका प्रवक्ता अर्चना खड्काले बजारमा हल्ला छाएजस्तो निगमका पाइलट चीन जान मानेनन् भन्ने समाचारमा कुनै सत्यता नरहेको भन्दै जहाजका सबै कर्मचारी इमान्दारीपूर्वक सेवामा खटिने बताए ।
हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाली विद्यार्थीलाई वुहानमा भेला गरिनेछ । चीनबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ ।
त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् ।
चीनको हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कनका लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।
प्रकाशित समय ०८:०६ बजे

















