गृहपृष्ठ हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो : प्रधानमन्त्री

हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो : प्रधानमन्त्री

सबै क्षेत्रको विकास सरकारको प्राथमिकतामा

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए ।

आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताए । ‘हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताए ।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताए । ‘विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यिनै कुरामा हाम्रो ध्यान गएको छ ।’ प्रधानमन्त्री ओलीले यहाँका महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गरे ।

प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताए । प्रधानमन्त्री ओलीले सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गरे । ‘उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस् ।’

सो अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उनको ६९औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे  । उनले आफ्नो उपचारमा सहयोग गर्ने डा. रमेशसिंह भण्डारी, डा. दिलीप शर्मालगायतलाई धन्यवाद ज्ञापन गर्दै सहभागीमाझ परिचय गराएका थिए ।

खानेपानी आयोजना उद्घाटन

प्रधानमन्त्री ओलीले चार वर्षअघिदेखि निर्माण सुरु भई हालैदेखि सञ्चालनमा आएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । आज कुम्मायक गाउँपालिका- १ यासोक बजारमा खानेपानी धाराको टुटी खोल्दै प्रधानमन्त्री ओलीले आयोजनाको उद्घाटन गरे ।

खानेपानीका मुहान सुक्दै गएपछि साबिक यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२/७३ देखि बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएको थियो । तीन गाविसलाई सरकारले २०६८ सालमै सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी तथ्यांक छ । कुम्मायक- ५, स्यावरुम्बाको लुमुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पुर्‍याई खानेपानी वितरण सुरु गरिएको छ ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु