गृहपृष्ठ पर्वतारोहण संघले बुझायो सरकारलाई ६ करोड ८८ लाख रोयल्टी

पर्वतारोहण संघले बुझायो सरकारलाई ६ करोड ८८ लाख रोयल्टी

नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमाल आरोहणबापत संकलित रोयल्टी रकमको ५५ प्रतिशत सरकारलाई बुझाएको छ । संघले व्यवस्थापन गर्दै आएको हिमालहरुको रोयल्टी रकममध्ये ५५ प्रतिशत बराबर हुन आउने ६ करोड ८८ लाख ४९ हजार रुपैयाँ सरकारको नाममा दाखिला गरिएको संघका अध्यक्ष सन्तविर लामाले जानकारी दिए ।

संघका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पर्वतारोहण रोयल्टीबाट कुल १२ करोड ५१ लाख ८० हजार संकलन भएको थियो । ‘रोयल्टीबाट उठ्ने रकम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको खातामा जम्मा गर्न महालेखक नियन्त्रक कार्यालयले पत्र पठाएको थियो । हामीले सोहीबमोजिम रकम दाखिला गरिसक्यौँ,’ अध्यक्ष लामाले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए ।

यसअघि सरकारको नीति अस्पष्ट भएका कारण रोयल्टी बुझाउन समस्या भएको अध्यक्ष लामाले बताए । ‘रोयल्टी रकमबाट प्रदेश सरकारको कोषमा २५, सम्बन्धित स्थानीय तहको कोषमा २५ र पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई ५ प्रतिशत भुक्तानी गर्ने भनिएको थियो,’ उनले भने, ‘अस्पष्ट भएपछि सम्बन्धित निकायलाई कुन–कुन खातामा जम्मा गर्ने सोको स्पष्ट विवरणको लागि हामीले सोधेका थियौँ ।’ उनका अनुसार संघले अहिले २७ वटा हिमालको व्यवस्थापन गरिरहेको छ ।

प्रकाशित समय १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु