गृहपृष्ठ कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी विरुद्ध नागरिक सडकमा

कृत्रिम अभाव, मूल्यवृद्धि र कालोबजारी विरुद्ध नागरिक सडकमा

फाइल तस्बिर

कोरोना भाइरसको सन्त्राससँगै बजारमा उपभोग्य सामग्रीको महँगी, कृत्रिम अभाव र कालोबजारी शुरु भएपछि स्थानीयवासी स्वतःस्फूर्तरूपमा सडकमा उत्रिएका छन् ।

चक्रपथ सफाइ अभियानले आज सीतापाइला चोकमा खबरदारी र्‍यालीसहित सभाको आयोजना गर्‍यो । र्‍यालीमा पीडित स्थानीयवासी सहभागी भएका थिए । कोरोनाको सन्त्राससँगै मास्क, पञ्जा, ग्यासलगायत खाद्य सामग्रीमा कालोबजारी मूल्यवृद्धि भए पनि सरोकार भएका सरकारी निकायले ध्यान नदिएको भन्दै स्थानीयवासी सडकमा उत्रिएको अभियानका संयोजक ताराबहादुर कुँवरले राससलाई जानकारी दिए ।

कोरोनाको उच्च जोखिममा नेपाल भए पनि हालसम्म यसका बिरामी देखिएको छैन । सामाजिक सञ्जालमा रोग आएजस्तो गरी भइरहेको प्रचारप्रसारप्रति पनि सहभागीले आपत्ति जनाएका थिए । सो अवसरमा संविधानसभा सदस्य सुवासचन्द्र ठकुरीले कालोबजारी र मूल्यवृद्धि गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन नागरिकले आवाज बुलन्द गर्दै दबाब दिनुपर्नेमा जोड दिए ।

शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पन्तले सामान्य रुघाखोकी लाग्दैमा नडराई स्वास्थ्यकर्मीको सल्लाह लिन आह्वान गरेका थिए । देशमा तीन तहको सरकार भए पनि कालोबजारी, उपभोग्य वस्तुको कृत्रिम अभाव र मूल्यवृद्धिको अनुगमनमा कसैले ध्यान नदिएको सहभागी राधिका गिरीले गुनासो गरे ।

सफाइ अभियानले कालोबजारी गर्नेका विरुद्ध सूचना संकलन गरी नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई कानूनी कारवाहीका लागि दिन लागिएको जानकारी पनि संयोजक कुँवरले दिएका थिए । सो अवसरमा शुभेच्छा अन्तर्राष्ट्रिय अस्पतालका चिकित्सकले कोरोना भाइरसका बारेमा जनचेतना जगाउँँदै फोहर नगर्न सुझाव दिएका थिए । (रासस)

प्रकाशित समय १६:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु