गृहपृष्ठ स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउँछ : गृहसचिव
स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउँछ : गृहसचिव
गृहसचिव महेश्वर न्यौपानेले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालको बुधबार निरीक्षण गरी त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा सम्बोधन गरेका छन् ।
सो अवसरमा गृहसचिव न्यौपानेले अस्पातलको रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भीआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपीडीहरू, ईमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसीयू, प्रस्तावित कोरोना भाईरस क्वारेन्टाइन वार्ड, आइसोलेशन वार्ड, निर्माणाधीन रहेका गायनो, बाल वार्ड, महिला ब्यारेक र पार्किङको निरीक्षण गरे ।

सम्बोधनको क्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाई थप गुणस्तरीय सेवा प्रवाह गर्नसक्ने बनाउन मन्त्रलायकोतर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । अस्पतालमा विभिन्न भवनहरु निर्माणाधिन अवस्थामा रहेको सुखद पक्ष भएको चर्चा गर्दै उनले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकाले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताए ।
प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिक समेतको आशाको केन्द्र भएकाले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद गर्न नहुने उनकाे धारणा थियो । ‘अस्पताल भन्नासाथ सरसफाई महत्वपूर्ण विषय हुन्छ । अस्पतालका हरेक स्थानहरुमा सरसफाईमा विशेष ध्यान दिन अनिवार्य छ,’ उनले भने । अस्पतालमा ल्याबको गुणस्तरीयता बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको सञ्चालन लगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले प्रतिवद्धता व्यक्त गरे । 
प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीले प्रहरी कर्मचारीहरुको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता संगठनको उच्च प्राथमिकताको विषय भएको बताए । रोगको पहिचान र मानवीय संवेदनासँग समेत जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरुले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्दै सेवा प्रवाह गर्नुपर्ने उनले चर्चा गरे ।
अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) डा. आशा सिंहले प्रहरी अस्पतालको गतिविधि र भावी योजनासम्बन्धी जानकारी गराइन् । अस्पतालका विभिन्न विभागका प्रमुखले २४ घण्टाभित्र अस्पतालमा भएका गतिविधिहरुबारे संक्षिप्त जानकारी गराएका थिए ।


प्रकाशित समय १६:२७ बजे

















