गृहपृष्ठ धरासायी बन्दै कुखुरापालन व्यवसाय, किसानले पाउँदैनन् उचित मूल्य
धरासायी बन्दै कुखुरापालन व्यवसाय, किसानले पाउँदैनन् उचित मूल्य
नेपालमा कुखुरापालन व्यवसायीहरुको अवस्था दयनीय बन्दै गइरहेको नेपाल अण्डा उत्पादन संघका अध्यक्ष शिवराम केसीले बताएका छन् । बुधबार पशुसेवा विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले २०७५ वैशाखदेखि हालसम्मको तथ्यांक हेर्दा व्यवसाय दयनीय रहेको बताए ।
व्यवसाय दयनीय हुँदै जानुमा सरकारको स्पष्ट तथ्यांक नभएको उनले बताए । ‘कति अण्डा उत्पादन गर्ने भन्ने विषयमा सरकारको स्पष्ट योजना छैन । पशु विभागले नीति नियम बनाएको छ । त्यो नीति नियम १० प्रतिशत मात्र किसानको हकअन्तर्गत छ । यसले कृषि व्यवसाय तल्लो स्तरमा पुगेको छ,’ उनले भने ।
छिमेकी राष्ट्रहरु चीन र भारत अण्डा उत्पादन गर्ने विश्वकै पहिलो र दोस्रो देशअन्तर्गत रहेको बताँउदै उनले ती देशहरुबाट नै नेपालमा कुखुरा फार्मको लागि प्रयोग गरिने कच्चा पदार्थ भित्रिने बताए । उनले भने, ‘ती देशहरुमा बर्ड फ्लु फैलिँदा त्यसको प्रभाव नेपालले व्योहोर्नुपर्छ । तर सरकारले सीमा सुरक्षामा कडाई गर्न सकेको छैन ।’
नेपालमा कोरोनालाई लिएर अण्डा मासु खानु हुँदैन भनेर विभिन्न गलत सूचना प्रवाह भइरहेको पनि उनले बताए । जनहितको लागि जारी गरिने त्यस्ता सूचना ‘काँचो धागोमाथि तरवार झुण्ड्याएको’जस्तो भएको भन्दै केसीले आक्रोश पोखे । उनले सूचना प्रवााह गर्दा पनि ध्यान दिनुपर्ने र सूचनाको प्रवाह गर्ने तरिकामा पनि परिवर्तन आउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘भारतले कही समयअघि मात्र पत्रकार सम्मेलन गरी अण्डा, मासुसँग कोरोनाको केही सम्बन्ध नरहेको सूचना जारी भयो । तर नेपालमा भाइरस संक्रमण अहिलेसम्म कसैलाई देखिएको छैन । तर पनि विभाग, मन्त्रालय स्पष्ट हुन सकेको छैन,’ अध्यक्ष केसीले भने । नेपालमा कृषि व्यवसायमा स्थिरता राख्ने हो भने विभाग, मन्त्रालय र सरकारले ध्यान दिनु जरुरी रहेको उनले बताए ।

किसानले अण्डाको उचित मूल्य नपाएको पनि उनले बताए । विभागले निकालेको तथ्यांकअनुसार ११ रुपैयाँ ५३ पैसामा प्रतिअण्डाको मूल्य पर्छ । तर किसानले ८ रुपैयाँसम्म पनि नपाएको उनको गुनासो छ । यसअनुसार किसानले ३ रुपैयाँ ५० पैसा घाटा व्योहोर्नु परिरहेको उनले बताए ।
पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले अण्डाको वर्तमान मूल्य निर्धारणमाथि किसानको गुनासो रहेको बताए । उनले भने, ‘किसानको मुख्य गुनासो भनेकै फार्ममा उत्पादित अण्डाको उचित मूल्य नपाएको नै हो ।’ मूल्यको अनिश्चितता तथा अण्डाको मूल्य निर्धारण प्रणालीको अनुपस्थितिमा व्यवसायीहरुले सामाना गर्नुपरेको चुनौतीबारे उनले कार्यपत्रसमेत प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै अण्डाले जनसंख्यालाई पोषण मात्र प्रदान गर्ने नभएर राष्ट्र उत्पादनमासमेत योगदान पुर्याउने उनले प्रष्ट पारे ।
विभागले निकालेको तथ्यांकअनुसार नेपालमा वार्षिक अण्डा उत्पादन १ अर्ब ४९ करोड ८० लाख २४ हजार पुगेको छ । करिब ६५ प्रतिशत नेपाली घरपरिवार कृषिमा संलग्न रहेकोमा ५४ प्रतिशत घरधुरीले अनुमानित ७ करोड २२ लाख कुखुरा पाल्ने गरेको विभागले जनाएको छ ।
प्रकाशित समय १९:०२ बजे

















