गृहपृष्ठ ८३ वन क्षेत्र डढेलाको जोखिम : शून्य डढेलो अभियान सुरु

८३ वन क्षेत्र डढेलाको जोखिम : शून्य डढेलो अभियान सुरु

सांकेतिक तस्बिर

डिभिजन वन कार्यालय दाङले डढेलोलाई शून्यमा झार्न ‘शून्य वन डढेलो अभियान’ सुरुवात गरेको छ ।

गर्मीयाम सुरु भएसँगै प्रमुख समस्याका रुपमा देखिने डढेलोलाई न्युन गर्न कार्यालयले सो अभियान सञ्चालन गरेको जनाएको छ ।

अभियानको सुरुवाती चरणमा कार्यालयअन्तर्गतका कमिरेचौर, सुनपुर, घोराही, नाराणपुर, बिजौरी, तुलसीपुर, बिजौरी, दंगीशरण, पुरन्धारा र हापुर पुरन्धारामा वन डढेलो जोखिम पहिचान तथा नक्सांकन कार्यक्रम सम्पन्न भएका छन् । ती कार्यक्रममा वन कर्मचारी, सामुदायिक वन समूह र सञ्जालका प्रमुख र लामो समयदेखि वन संरक्षणमा काम गर्दै वन हेरालुको सहभागिता रहेको थियो ।

८३ वन समूह डढेलोको उच्च जोखिममा रहेका जनाइएको छ । जोखिमलाई उच्च, मध्यम र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ । उच्च जोखिममा ८३, मध्यम ४६ र ४४ वटा सामान्य रहेका डिभिजन वन कार्यालयका कार्यालय प्रमुख दीपक ज्ञवालीले जानकारी दिए । उनका अनुसार ती वन समूहमध्ये ९२ वन समूह वन डढेलो नियन्त्रणका लागि सक्रिय रहेका छन् ।

८१ वन समूह निष्कृय देखिएको अध्ययनले देखाएको छ । बबई गाउँपालिका र घोराही उपमहानगरपालिकाअन्तर्गत रहेका अधिकांश सामुदायिक वन र केही राष्ट्रिय वनको क्षेत्र वन डढेलोको उच्च जोखिममा रहेको कार्यालयले जनाएको छ ।

बंगलाचुली र दंगीशरणका गाउँपालिकाअन्तर्गतका वन क्षेत्र मध्यम जोखिम, तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको नारायणपुर र हापुर क्षेत्र वन डढेलोको न्यून जोखिममा रहेका छन् । लुकिछिपी धूमपान गरी फाल्नु यहाँ डढेलोको प्रमुख कारक रहेको जनाइएको छ ।

गलत सोचले समेत डढेलो लगाउने गरेको अध्ययनले देखाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए । अभियानलाई सफल बनाउन दीर्घकालीन र अल्पकालीन रणनीति तयार गरेको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु