गृहपृष्ठ कोरोना संक्रमणको जोखिममा सुदूरपश्चिम, चेकजाँच छल्दै आवतजावत

कोरोना संक्रमणको जोखिममा सुदूरपश्चिम, चेकजाँच छल्दै आवतजावत

हल्लाको भरमा अस्पतालमा भीड

कैलालीको त्रिनगरमा स्थापित हेल्थ डेस्क ।

रोजगारीका लागि भारतमा रहेका कैलालीको गोदावरी नगरपालिकाका ३ जनामा कोरोनाको आशंका गरियो । शंकास्पद लक्षण देखिएपछि आत्तिएका उनीहरु भारतको सुरतबाट सुदूरपश्चिम अर्थात् आफ्नो घर फर्किए । ‘भारतबाट शंकास्पद नेपाली सुदूरपश्चिम आइरहेको’ खबरसँगै सीमा क्षेत्रमा चेकजाँच कडा पारियो ।

तर भारतमा कोरोना आशंका गरिएका एक महिलासहित तीनजना शुक्रबार सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको आँखा छल्दै अत्तरिया पुगे । सो खबर प्राप्त भएलगत्तै गोदावरी नगरपालिकाले स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल ल्याएको छ । उनीहरूको नमूना संकलनका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।

फागुनको पहिलो हप्ता चीनबाट फर्किएका धनगढीका एक युवक कोरोना संत्रलमणको आशंकामा बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्ना भए । चीनबाट फर्केको केही दिनमै ज्वरो, रुघाखोकी र छाती दुख्ने समस्या देखिएपछि उनी अस्पतालको सम्पर्कमा पुगे । अस्पतालले ती युवकलाई आइसोलेसन वार्डमा राखेर परीक्षणका लागि नमूना संकलन गरिएको छ । उनको नमूना संकलन गरी परीक्षणको लागि अस्पतालले शुक्रबार काठमाडौँ पठाइसकेको छ । अब उनीमा कोराना भए-नभएको रिपोर्ट आउन बाँकी छ ।

यसअघि पनि शंकास्पद लक्षण देखिएपछि सुदूरपश्चिमकै चारजना सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनीहरूको नमूना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

सर्वसाधारण त्रसित

विश्वमा महामारीको रूप लिइरहेको कोरोनाको त्रासमा सुदूरपश्चिमवासी छन् । विशेषगरी छिमेकी मुलुक भारतमा समेत कोरोनाको संक्रमण बढ्न थालेपछि सुदूरपश्चिममा सन्त्रास फैलिएको हो । कोरोनाका कारण भारतमा दुई जनाको ज्यान नै गएपछि स्थानीयहरु झनै त्रसित बनेका छन् । सुदूरपश्चिमेलीहरुको रोजगारीको मुख्य थलो भारत नै हो । यहाँका अधिकांश नागरिकहरू रोजगारीको लागि भारतमै छन् । यस कारण पनि सुदूरपश्चिम प्रदेश कोरोनाक संक्रमणको उच्च जोखिममा छ ।

सुरक्षा समितिको बैठक ।

अस्पतालमा बिरामीको चाप

प्रदेशको एक मात्र रेफरल अस्पताल सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप उच्च छ । कोरोनाको त्रासका कारण स्वास्थ्यमा सामान्य समस्या आउँदा पनि सर्वसाधारण अहिले स्वास्थ्य परीक्षणको लागि अस्पताल पुग्न थालेका छन् ।

मौसमी रुघाखोकीका बिरामीहरू अस्पताल आउने क्रम बढेको चिकित्सकहरूले बताएका छन् । कोरोनाको त्रासका कारण पनि सामान्य रुघाखोकी लाग्नेबित्तिकै पनि मानिसहरु उपचारका लागि अस्पताल पुग्ने गरेको सेती प्रादेशिक अस्पताल इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए ।

गर्मी याम सुरु भएसँगै अस्पतालमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लगायतका बिरामीहरूको चाप बढेको छ । सामान्यतया दैनिक सय देखि डेढ सयको हाराहारीमा बिरामी आउने गरेकोमा अहिले इमर्जेन्सी वार्डमा मात्रै ५ सय जति बिरामी दैनिक उपचारका लागि आउने गरेको डा. जोशीले बताए । चेक जाँचको लागि अस्पताल आउनेहरूमा अहिले बालबालिका र वृद्धवृद्धा बढी छन् । प्रादेशिक अस्पतालमा मात्रै होइन, अन्य जिल्ला अस्पतालमा पनि अहिले मौसम परिवर्तनका कारण हुने बिरामीको संख्या बढेको छ ।

मास्कको कालोबजारी

कोरोनाको सन्त्रास फैलिएपछि सुदूरपश्चिममा मास्कको कालोबजारी बढेको छ । ६ रुपैयाँ पर्ने सर्जिकल मास्कलाई ३० रुपैयाँसम्म विक्री गरेको फेला परेको छ । कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग अनिवार्य भन्ने हल्ला चलेपछि कालोबजारी बढेको हो । बजार अनुगमनका क्रममा कृत्रिम अभाव सृजना गरेर महँगोमा मास्क बेचेको पाइएको छ । सर्वसाधारणहरू भने मेडिकलमा सहजै सर्जिकल मास्क नपाएपछि किराना पसलबाट सामान्य मास्क किनेर लगाउन बाध्य छन् ।

धनगढीको राजपुरका वसन्त धामीले मास्कको लागि विभिन्न मेडिकल धाउँदा पनि रित्तो हाल फर्कन बाध्य भएको गुनासो गरे । धनगढीमा मास्क अभाव भएपछि नागरिकहरू अहिले कपडाको सामान्य मास्क प्रयोग गर्न थालेका छन् । निजी फार्मेसी र क्लिनिकमा मात्रै होइन, सेती प्रादेशिक अस्पतालको फार्मेसीमा पनि सर्जिकल मास्कको अभाव छ ।

मास्कमा कालो बजारी बढेपछि सरोकारवालाहरूले अनुगमन थालेका छन् । अनुगमनका क्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता कार्यालय कैलालीले मास्कको कालो बजारी गर्ने न्यू सुशील श्रृंगार पसललाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ ।

उपकरण र सुरक्षा अभाव

कोरोना भित्रिन नदिन कैलालीको गौरीफन्टा नाकामा सतर्कता बढाइए पनि उपकरण र सुरक्षा अभावमा भने स्वास्थ्य परीक्षण प्रभावकारी बन्न सकेको छैन । अहिले नाकामा धनगढी उपमहानगरपालिकाले ५ जनाको टोली बिहान ६ बजेबाट राति ८ बजेसम्म खटाएको छ । तर एउटा मात्रै थर्मोमिटर गनको भरमा खटिएका स्वास्थ्यकर्मीहरु आफैँ जोखिममा परेका महसुस गर्न थालेका छन् । स्थानीयले भने अन्य नाकामा पनि निगरानी बढाउनुपर्ने बताएका छन् ।

गौरीफन्टा नाकाबाट हाल दैनिक ४ देखि ५ सयको हाराहारीमा मानिसहरू नेपाल भित्रिने गरेका स्वास्थ्य जाँचका लागि खटिएका लक्ष्मीराज उपाध्यायले बताए । तर नाकामा सुरक्षाका अन्य सुविधा उपलब्ध नहुँदा आफूहरु नै असुरक्षित रहेको उनको गुनासो छ । गौरीफन्टाबाहेक अन्य साना नाकामा भने कुनै सतर्कता अपनाइएको छैन । त्यसैले ती सबै नाकामा सतर्कता अपनाउनु पर्नेमा स्थानीयको जोड छ ।

धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले भारतमा लामो समयसम्म रहेका नेपाली र भारतीय नागरिकलाई गौरीफन्टा नाकाबाट मात्रै आवतजावत गर्ने गरी मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीसँग पहल भएको बताए । स्वास्थ्य जाँचमा आवश्यक पर्ने उपकरणका विषयमा समेत जिल्ला सुरक्षा समितिको बैठकमा पहल भइसकेको उनको भनाइ छ ।

११ हेल्थ डेस्क र ४७ आइसोलेन बेड स्थापना

कोरोनाको संक्रमण भित्रिन नदिन उच्च सतर्कता अपनाइएको सुदूरपश्चिम सरकारले बताएको छ । सुदूरपश्चिम प्रदेशका ११ वटै सीमा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कैलाली र दार्चुलामा तीन/तीन, कञ्चनपुर र डडेल्धुरामा दुई÷दुई, बैतडीमा एक हेल्थ डेस्क स्थापना गरिएको मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

प्रदेश सरकार मातहत रहेका अस्पतालहरूमा कोरोनाको चेक जाँच सुरु गरिएको उनको भनाइ छ । उनका अनुसार प्रदेशका १८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन बेडसमेत स्थापना भइसकेको छ । यसको अतिरिक्त जनचेतनामुलक कार्यक्रम भइरहेको प्रदेश सरकारको दावी छ । प्रदेशका विभिन्न ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

खोइ क्वारेन्टाइन ?

कोरोनाको उच्च जोखिममा रहेको सुदूरपश्चिममा सरकारी तयारी पर्याप्त देखिँदैन । प्रदेश र स्थानीय सरकारले जनचेतना कार्यक्रमसँगै चेकजाँचमा कडाई भइरहेको दावी गरेको छ । उपकरण र विशेषज्ञको अभावमा हेल्थ डेस्क प्रभावकारी बन्न नसकेको स्थानीयहरुले गुनासो गरिरहेका छन् । संघीय सरकारअन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालयहरुले कोरोना भाइरसबाट जोगिन सबैलाई आग्रह गरेको छ । प्रशासनले ठूला सभा समारोह, महोत्सव, मेला लगायतका कार्यक्रम गर्न रोक लगाएको छ ।

प्रदेश सरकारले पनि व्यापक सतर्कता अपनाइएको जनाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको मन्त्री र सचिवहरूको बैठकले पूर्वतयारीका कार्य योजना बनाउन र सचेतनामूलक कार्यक्रमहरू गर्न आह्वान गरेको छ ।

मास्क, थर्मोमिटर, किट, पञ्जा, औषधी, उपकरणलगायत सामग्रीको आपूर्ति व्यवस्थापनका लागि नियमित बजार अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयलाई भनिएको छ । प्रदेशमा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको व्यवस्था मिलाइए पनि क्वारेन्टाइन भने स्थापना हुन सकेको छैन । कोरोना संक्रमित बिरामी फेला परिहालेमा व्यवस्थापन गर्न चुनौती छ । हाल परीक्षणका लागि पनि बिरामीको नमूना संकलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता छ ।

यद्यपि सम्भावित जोखिमबाट बच्न सबै जिल्लामा आइसोलेसन कक्ष र क्वारेन्टाइन स्थापना गर्ने निर्णय भने प्रदेश सरकारले गरी सकेको छ । सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने पनि सरकारको तयारी छ ।

प्रकाशित समय १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु