गृहपृष्ठ भागेका बालिकालाई मन्त्रीको ‘लिफ्ट’
भागेका बालिकालाई मन्त्रीको ‘लिफ्ट’
फाइल तस्बिर
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय जातको केरामा उनको आँखा पुग्यो । चालकलाई गाडी रोक्न भनिन् । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर टाढा गएर रोकियो ।
गाडी रोकिएपछि दुई अपरिचित आठ/नौ वर्षका बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ भन्दै चालकलाई गुहारे । चालकसँग ती बालिकाको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान गयो । उनले दुवैलाई बोलाएर सोधिन्, ‘नानी कहाँ हो घर ? तिमी दुवै यतिबेला कहाँ जाने हो ? तिमीसँग कोही छैन त ! किन तिमी दुवै यतिखेर एक्लै हिँडेको ?’
तीमध्ये एक बालिकाले आत्तिँदै भनिन्, ‘हाम्रो घर भर्याङ खोरियो हो । त्यहाँबाट तीन घण्टा हिँडेर आएको । हामी सुर्खेत बसपार्क मामाकहाँ जाने हो ।’ अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन् ।
मन्त्री केसीले फेरि सोधिन्, ‘तिम्रो मामाको नाम के हो ?’
बालिकाले भनिन्, ‘थाहा छैन ।’
‘तिम्रो घरमा बुबाआमा हुनुहुन्न ? सानै छौं, तिमीहरु भागेर आएजस्तो लाग्छ,’ उनले प्रतिप्रश्न गरिन् ।
आत्तिँदै बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्ने गरेको सुनाइन् । हातमा प्लास्टिकको झोलामा केही लत्ताकपडा बोकेकी ती बालिकाले तारन्तार ‘पैसा दिन्छु, मामाघर पुर्याइदिनु’ भन्दै आग्रह गरिरहिन् ।
बाँकी प्रश्नको उत्तर नदिएपछि मन्त्रीले ‘ठिकै छ तिमीहरुलाई प्रहरीकहाँ बुझाउँछौँ’ भनिन् । यो सुन्नेबित्तिकै दुवै भाग्न खोजे । पछि उनले सम्झाइबुझाई गरेर उनीहरुलाई गाडीमा राखिन् ।
दुई सय मिटरअघि पुगेपछि सबैजना गाडीबाट ओर्लिए । संयोगवशः त्यहाँनेर दुवै बालिका अध्ययनरत मनिरामकाँडा आधारभूत विद्यालय भेरीगंगा नगरपालिका १ सुर्खेतका शिक्षिका ललिता बुढा क्षेत्री भेटिइन् । उनले यी दुई बालिका भागेर गएको सुन्दा तिनलाई कसरी भेटाउने होला भनेर गाडी कुरेर बसेको बताइन् ।
मन्त्री केसीले शिक्षिका बुढा क्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोधिन् । उनको प्रश्नको जवाफमा शिक्षिका बुढा क्षेत्रीले दुवै बालिका भेरीगंगा नगरपालिका १ भर्याङ खोरिया सुर्खेतका ९ वर्षीया दुर्गा सिंह र १० वर्षीया सुकमाया गुरुङ रहेको जानकारी दिइन् । उनका अनुसार दुर्गा मनिराकाँडा आधारभूत विद्यालय कक्षा ४ र सुकमाया कक्षा ३ मा अध्ययनरत छन् । उनले दुवै बालिकाले ३५० रुपैयाँ बोकेको र परीक्षा नदिई भागेको र परिवारले उनीहरुलाई खोजी गरिरेहको जानकारी गराइन् ।
शिक्षिका बुढा क्षेत्री विद्यालयबाट बिदा लिएर सुर्खेत पुग्न करिब तीन घण्टाको पैदलयात्रा गरेर राजमार्गमा बेलुका ५:४० बजे पुगेकी थिइन् । साँझ परिसकेको र बालिकालाई घर पुर्याउन नसकिने भन्दै मन्त्री केसीले बालिकालाई वीरेन्द्रनगरसम्म उद्धार गरेर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाइन् ।
उनले शिक्षिका बुढा क्षेत्रीलाई घरपरिवारलाई राम्रोसँग सम्झाएर बालिकालाई बुझाउन र उनीहरुलाई कुनै पनि मानसिक, शारीरिक र मनोवैज्ञानिक पीडा एवं तनाव नदिन सुझाव दिइन् । यद्यपि उनीहरुको सही व्यवस्थापन गर्न नसकिए तुरुन्त जानकारी गराउन पनि आग्रह गरेकी छन् । (रासस)
प्रकाशित समय ०७:४२ बजे

















