गृहपृष्ठ ‘असहज परिस्थितको बेला दुई पैसाको लागि कालोबजारी नगर्नुस्’
‘असहज परिस्थितको बेला दुई पैसाको लागि कालोबजारी नगर्नुस्’
बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने जोकोहीलाई पनि नछाड्ने महानगरीय प्रहरी आयुुक्त डीआइजी विश्वराज पोखरेलले बताएका छन् । अहिले भइरहेको असहज परिस्थितको बेला दुई पैसाको लागि कालोबजारी गर्नुभन्दा समाजसेवामा लाग्न उनले आग्रह गरे ।
‘कोरोनाका कारण मास्क, स्यानीटाइजर, ग्यास लगायतका सामग्रीको अभाव सिर्जना गराएर कालोबजारी गर्ने व्यक्ति, व्यवसायी, व्यापारी सबैलाई कडा कारवाही हुन्छ,’ उनले भने । कानुनअनुसार कालोबजारी गर्नेलाई १ वर्ष जेल र २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने उनले जानकारी दिए । नेपाल प्रहरी यस परिस्थितिमा गम्भिर भएर लागेको र कुनै पनि हालतमा कालोबजारी गर्नेसँग सम्झौता नगर्ने उनको भनाइ छ ।
कोरोना नभित्रिए पनि सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेकाले यस्तो बेला हल्लाको पछि लाग्नुभन्दा आफ्नो भूमिकाबारे सोच्न डीआईजी पोखरेलले आग्रह गरे । यदि नेपालमा कोरोना संक्रमण भइहाले सबैले आफ्नो ठाउँबाट जिम्मेवारीपुर्वक भूमिका निर्वाह गर्नुपर्ने र नेपाल प्रहरीले पनि आफ्नो कर्तव्य निभाउने उनले प्रतिबद्धता जनाए ।
‘बजारमा अहिले जताततै देखिएको समस्या भनेको सर्जिकल मास्कको हो । सर्वसाधारणहरु बढी मूल्यमा मास्क किन्न बाध्य छन् । यसलाई रोक्न प्रहरी सक्रियताका साथ लागिरहेको छ । नागरिकहरुले कालोबजारी भएको सूचना दिएमा उक्त ठाउँमा प्रहरीले तुरुन्त कारवाही गर्छ,’ उनले भने । कोरोना भाइरबारे उच्च सतर्कता अपनाउन उनले सबैमा अनुरोध गरे ।
नेपालमा कोरोनाको संक्रमण भइहाले जोखिम मोलेर भए पनि देश र जनताको सेवाका लागि नेपाल प्रहरी तयार रहेको डीआईजी पोखरेलले बताए । यदि कसैमा कोरोना देखिएमा जाँच गराइहाल्न, आफै सचेत रहन तथा परिवारको माया र साथ खोज्नुको साटो आइसोलेसनमा बस्न उनले सबैलाई अनुरोध गरे ।
‘सरकारले धोका दिइरहेको छ’
डा. सुन्दरमणि दिक्षितले नेपालमा कोरोनाको जाँच नै नगरी ‘कोरोना छैन’ भनेर कोरोनालाई भित्रभित्रै लुकाउन खोजेको आरोप लगाएका छन् । कोरोना संक्रमणको आशंका गरी वीर अस्पतालबाट रेफर गरिएको व्यक्तिलाई टेकु अस्पतालले जाँचै नगरी घर पठाइएको उनको दावी थियो । सरकारले कोरोनाको विषयमा लापरबाही गरिरहेको उनले आरोप लगाए ।
‘कोरोना परीक्षण गर्न पठाउँदा इन्फ्ल्यून्जाको परीक्षण गर्ने अनि कोरोना छैन भनेर पठाउने यो सरकारको लापरवाही हो,’ आक्रोश पोख्दै उनले भने, ‘सरकारले जनतालाई भ्रममा राखिरहेको छ । धोका दिइरहेको छ ।’ यसैगरी वेवास्ता गरिरहने हो भने एकदिन कोरोनाले सबैलाई सखाप पार्ने उनले बताए । यसबारे सबैले आवाज उठाउन उनले आग्रहसमेत गरेका छन् ।
प्रकाशित समय १७:४८ बजे

















