गृहपृष्ठ भारतबाट फर्किनेको भीड थामिनसक्नु, सुदूरपश्चिमका सीमा नाका अस्तव्यस्त
भारतबाट फर्किनेको भीड थामिनसक्नु, सुदूरपश्चिमका सीमा नाका अस्तव्यस्त
सुरक्षा निकाय र स्वास्थ्यकर्मीलाई भ्याइनभ्याई
स्वास्थ्य परीक्षणका लागि लामवद्ध सर्वसाधारण ।
छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण फैलिँदै गएपछि रोजगारीको सिलसिलामा त्यहाँ पुगेका नेपालीहरु धमाधम स्वदेश फर्किइरहेका छन् । केही दिनयता कैलालीको त्रिनगर नाका भएर मात्र दैनिक हजारौं नेपाली स्वदेश भित्रिएका छन् ।
भारतमा विभिन्न स्थानमा काम तथा अध्ययनका लागि गएका नेपाली धमाधम स्वदेश फकिएका हुन् । नेपालीहरु धमाधम स्वदेश फर्किन थालेपछि कैलालीको त्रिनगर नाका अस्तव्यस्त बनेको छ । देहरादूनबाहेक पञ्जाब, दिल्ली र हरियाणामा अध्ययन गरिरहेका विद्यार्थी र कामदारहरु समेत घर फर्किन थालेपछि गौरीफन्टा र गड्डाचौकीमा स्थापना गरीएको हेल्थ डेस्कमा भीड बढेको छ ।
भारतमा कोरोनाको संक्रमण फैलिदै गएपछि त्यहाँ रहेका नेपालीहरुमा बढ्दो त्रासका कारण घर फर्किनेको संख्या अनपेक्षित रुपले बढेको हो । कोरोना संक्रमणको त्रास बढेको बताउँदै भारत सरकारले नै नेपालीहरूलाई स्वदेश फर्कन भनिरहेको मुम्बईदेखि आएका अछामका सुरज बोहराको भनाइ छ । मुम्बई पुगेको २ महिनामै फर्किन लागेको बताउने उनले हजारौँ नेपालीहरु स्वदेश फर्किरहेको बताए ।

नेपाल भित्रिनेको भीड बढेपनि सीमा नाकाहरुमा स्थानीय प्रशासनले स्वास्थ्य चेकजाँचलाई कडाइ गरेको छ । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राखिएका हेल्थ डेक्समा कडाईका साथ स्वास्थ्य परीक्षण भइरहेको छ ।
स्वदेश आउनेहरुको भीड थामिनसक्नु भएको त्रिनगर नाकामा खटिएका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाले बताए । न्युज कारोबारसँग कुरा गर्दै उनले भने, ‘भ्याइनभ्याइ छ । चेकजाँचको क्रममा हालसम्म केही व्यक्तिको स्वास्थ्य अवस्था शंकास्पद भेटिए पनि उनीहरुको रिपोर्ट नेगेटिभ आयो । त्यसैले आत्तिहाल्नु पर्ने अवस्था छैन ।’
कैलाली भन्सार कार्यालयको नवनिर्मित भवनमा धनगढी उपमहानगरपालिकाको पहलमा स्वास्थ्यकर्मी र औषधि सहितको व्यवस्था गरी आइसोलेसन कक्ष स्थापना गरिएको छ । तत्कालका लागि तीनवटा बेड राखिएको र आवश्यकताअनुसार थप व्यवस्था गरिने धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।

उनका अनुसार आइसोलेसन कक्षमा आवश्यक औषधि र स्वास्थ्य परीक्षण गर्ने उपकरणसहित चौबीसै घण्टा स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ । एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको नगर प्रमुख वडले जानकारी दिए ।
भारतमा संक्रमण बढ्दै गएसँगै सुदूरपश्चिमका स्थानीय र प्रदेश सरकारले सजगता अपनाएका छन् । अधिकांश सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिएका छन् । नेपाल भित्रिने सबैको स्वास्थ्य जाँच भइरहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । 
प्रकाशित समय १४:३४ बजे

















