गृहपृष्ठ महोत्तरीका एउटाबाहेक सबै सीमा नाका बन्द
महोत्तरीका एउटाबाहेक सबै सीमा नाका बन्द
भारतको विहार राज्यसँग सिमाना जोडिएका महोत्तरीका ११ वटा नाका आइतबारदेखि बन्द गरिएका छन् । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयले मलिवारा भिठामोड बाहेकका सबै नाका बन्द गरिएको हो । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि सुरक्षा सतर्कता अपनाउदै नाका बन्द गर्ने निर्णय भएको प्रजिअ खत्रीले बताए ।
उनका अनुसार भारतीय नागरिकसहित अन्य मुलकबाट आउने नागरिकलाई अर्को सूचना नभएसम्मका लागि आवतजावतमा रोक लगाउने निर्णय भएको हो । भारतबाट नेपाल फर्कने नेपालीहरुलाई भने सीमा नाकामा स्वास्थ्य जाँच गराई प्रवेश गर्न दिइने उनले बताए ।
समितिले मटिहानी नगरपालिकाका दुई, मनरासिस्वा नगरपालिकाका पाँच, सोनमा गाउँपालिकाका दुई र सम्सी गाउँपालिकाका दुईवटा नाका बन्द गर्ने निर्णय गरेको हो । महोत्तरीमा भारतसँग जोडिएका १२ नाका रहेका छन् । यसबाहेक नेपाल-भारतबीच रहेका सानो छोटीनाका र चोरबाटोहरु पनि सुरक्षाकर्मीहरुले बन्द गराउने प्रजिअ खत्रीले बताए ।
प्रकाशित समय १२:२८ बजे

















