गृहपृष्ठ कोरोना भाइरसको रोकथाममा रेडक्रसको विशेष तयारी

कोरोना भाइरसको रोकथाममा रेडक्रसको विशेष तयारी

अत्यावश्यकबाहेक सबै गतिविधि स्थगन, महाधिवेशन पनि सर्‍यो

रेडक्रसद्वारा कालिकोटमा सञ्चालित सचेतना कार्यक्रम ।

कोरोना भाइरस संक्रमित र सम्भावित जोखिम भएका व्यक्तिहरूलाई घर वा सामुदायिक स्थलहरूमा क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था आएमा रेडक्रसले स्थानको सहयोगका साथै आइसोलेशन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका लागि सहयोग गर्ने रणनीति बनाएको छ ।

सामग्रीहरू खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरुलाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोगजस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिने योजना बनाइएको छ ।

योजनाअनुसार उपचार गर्ने अस्पतालहरूलाई आवश्यक सहयोग व्यवस्था मिलाइने छ । COVID-19 भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग सो अघि सम्पर्कमा आएका व्यक्तिहरूको पनि खोजी गरी उपचार गर्नु पर्ने अवस्थामा खोजी ( contact tracing ) गर्न रेडक्रसले तालिमप्राप्त टोलीको तयारी गरिसकेको छ ।

प्रतिकार्यका क्रममा रेडक्रस मूल्य, मान्यता, का साथै बाल संरक्षण, दुर्व्यवहार, लैंगिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न निकायहरुलाई निर्देशन दिइएको छ ।

७७ वटै जिल्लामा सक्रियता :

कोभिड-१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटीले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीहरुको सक्रियता बढाएको छ ।

मुलुकका सबै जिल्लास्तरमा रेडक्रसका शाखाले सामुदायिक परिचालक/स्वयंसेवकको व्यवस्था गरेका छन् । संस्थाका विभिन्न विभागहरुले एकीकृत योजना बनाई क्षमता विकास गरी स्वयंसेवक परिचालन, सामुदायिक आवश्यकता र संलग्नताको अवधारणाबमोजिम जनचेतनामुलक कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन भइरहेका रेडक्रसका स्वास्थ्य विभाग निर्देशक विपुल न्यौपानेले बताए ।

विद्यालय तथा समुदायमा छलफल कार्यक्रम, अभिमुखीकरण/तालिम सञ्चालन, स्थानीय संघ सस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, सडक नाटक तथा एफएम रेडियोमार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा रेडक्रसका युवा स्वयंसेवकहरु परिचालित भएका हुन् ।

कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ, यूएन लगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसबाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्‍याउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसँग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा रेडक्रसले काम गर्दै आएको हो । आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको छ ।

रेडक्रसले भाइरसभन्दा कैयौं गुणा छिटो फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव ( Stigma )कम गराउन कार्य गरिरहेको नेरेसोका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध

शुक्रराज सरुवारोग अस्पताल स्वास्थ्य डेस्कमा नेपाल रेडक्रसका स्वयंसेवकहरु दैनिक खटिइरहेका छन् । यस अलावा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देश भित्रिने नाका, एयरपोर्ट तथा मानिसहरूको बढी चहलपहल हुने स्थानमा हेल्प डेक्समा सहयोग गरिरहेका छन् । यसैबीच थप सजगता अपनाऊन केन्द्रीय कार्यालयमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्नेबित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ । रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आऊने बिरामीका आफन्तहरुलाई पनि यस्तै सुरक्षाका उपायहरु अपनाइएका छन् ।

रक्तदानमा सहयोग गर्न अनुरोध

नेपाल सरकारले भीडभाड नगर्न निर्देश गरेअनुरुप मानिसहरुको सामूहिक भेला हुने क्रम घट्दै गइरहेकोले रक्तदान कार्यक्रममा समेत प्रभाव पर्न गई काठमाडौंलगायत देशका सबैजसो जिल्लामा रक्तदानका कार्यक्रमहरुमा कमी आएको रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले बताइन् ।

‘रगतको आपूर्तिमा कमि हुन नदिन र रगत आवश्यक पर्ने विरामीहरुको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रहरुमा गई रक्तदान गर्न नेरेसोले अनुरोध गरेको छ,’ डा. राजकर्णिकारले भनिन्, ‘असहज परिस्थितिमा रक्तसञ्चार निरन्तर गर्न थप सतर्कता र तयारी गरिएको छ र सहयोगको लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी भैरहेको छ ।’

अत्यावश्यकबाहेक सबै गतिविधि स्थगन, महाधिवेशन पनि सर्‍यो

अहिलेको सन्दर्भलाई दृष्टिगत गर्दै कोरोना भाइरस तथा डेंगु रोकथाम र नियन्त्रण लगायत रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार तथा विपद् प्रतिकार्यजस्ता अत्यावश्यक र आपतकालीन सेवा गतिविधिहबाहेक अन्य तालिम, गोष्ठी, भ्रमण, भेलाजस्ता कार्यक्रम अर्को सूचना जारी नभएसम्म नगर्न नगराउन नेरेसो केन्द्रीय कार्यालयले सबै निकायहरुलाई सूचना जारी गरेको संस्थाका कार्यबाहक महामन्त्री हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

कोरोना भाइरसको प्रकोपको परिस्थिति मूल्यांकन गरी चैत्र तेस्रो साता हुने संस्थाको महाधिवेशनलाई २०७७ जेठ अन्तिम सातालाई सारिएको नेरेसोका अध्यक्ष संजीव थापाले बताए । यसअघि चैत्रको २३ देखि २५ गतेदेखि काठमाडौँमा महाधिवेशन तोकिएको थियो ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु