गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना, संक्रमितको संख्या ९ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना, संक्रमितको संख्या ९ पुग्यो

कोरोना भाइरसकाे संक्रमण सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा देखिएको पुष्टि भएको छ । कैलाली र कन्चनपुरका थप ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण पाइएको छ । अन्य दुईजना भने अन्य देशबाट आएका संक्रमित हुन् । मन्त्रालयका अनुसार सातौँ संक्रमित धनगढीका चौथो संक्रमित ३४ वर्षीय युवाकी भाउजु हुन् । यससँगै स्थानीयस्तरमै पनि कोरोना संक्रमण देखिएको हो । ३४ वर्षीया महिलामा यो संक्रमण पुष्टि भएको हो ।

आठौँ संक्रमित कैलालीको लम्कीनिवासी पुरुषमा देखिएको छ । २१ वर्षीय ती युवक केही समयअघि भारतको मुम्बईबाट आएको खुलेको छ । क्‍वारेन्टाइनमा राखिएका उनमा शुक्रबार साँझ कोरोना पुष्टि भएको हो । त्यसैगरी नवौँ संक्रमण कञ्‍चनपुरको पेरकोटका ४१ वर्षीय पुरुषमा देखिएको हो । उनी रोजगारीका क्रममा भारतको उत्तराखण्ड थिए। नेपाल आएपछि क्‍वारेन्टाइनमा राखिएका उनमा पनि शुक्रबारै कोरोना पुष्टि भएको हो ।

 

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु