गृहपृष्ठ कोरोनाको त्रास मनभित्रै थुनेर . .
कोरोनाको त्रास मनभित्रै थुनेर . .
'साविककै लय'मा 'गुल्जार' जनजीवन
कोरोना भाइरस (कोभिड- १९) र यसको संक्रमणबारे सञ्चारमाध्यममा विदेशको समाचार मात्र सुन्दै आएका नेपालीहरु अहिले त्यही नियति भोगिरहेका छन् । विदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेहरुको संख्या दिनानुदिन बढिरहँदा नेपालमा यसको त्रास बढ्दो छ ।
नेपालमा चैत ११ गतेदेखि लकडाउन घोषणा गरिए पनि त्यस अघिसम्म अन्तर्राष्ट्रिय उडान र भारतसँगको सीमा नाका खुला राखिएका कारण भाइरस भित्रिसकेको हुनसक्ने आशंका व्याप्त छ । अहिलेसम्म नेपालमा भेटिएका ९ जना संक्रमितमध्ये ८ जना भारत वा तेस्रो मुलुकबाट आएकाहरु हुन् । बाँकी एकजना मात्र विदेशबाट आएकाको सम्पर्कका कारण संक्रमित भएका छन् ।
एकपछि अर्को गर्दै संक्रमणका बिरामीहरु थपिँदै जान थालेपछि नेपालमा यसको त्रास झनै बढेको छ । लकडाउनको पालना गरे पनि आफू सुरक्षित नरहेकोमा सर्वसाधारण बढी त्रसित छन् । साधारण स्वास्थ्य समस्याका बिरामीलाई अस्पतालले भर्ना लिन नमानेको, सरकारले स्वास्थ्य सामग्री आयातमा हेलचेक्र्याईं गरेको लगायतका समाचारले सर्वसाधारणमा चिन्ता बढेको छ ।
लकडाउनयता अत्यावश्यक बाहेकका सेवाहरु ठप्प छन् । अरु बेला मानिसहरुको खचाखच र भीडभाड हुने सहरी क्षेत्रमा कुनै चहलपहल छैन । उद्योग, कारखाना र देशैभरका साना-ठूला आयोजनाहरु बन्द छन् । रोजीरोटीका लागि बिहान झिसमिसेदेखि साँझसम्म दौडधूप गरिरहने सहरका बासिन्दाहरुले आफूलाई घरभित्रै थुनेका छन् । तर यसविपरीत ग्रामीण क्षेत्रका बासिन्दाहरुको दैनिकी भने सामान्य अवस्थामाझैं खेतीपाती र मेलापातमै दिन बितिरहेको छ । कोरोना भाइरस, यसको संक्रमण र जोखिम अनि यसको रोकथामका लागि नेपालमा भइरहेको ‘प्रयास’बारे सञ्चारमाध्यममा सुनिरहेका उनीहरु यसको त्रास मनभित्रै थुनेर खेतबारीमा व्यस्त छन् ।

‘बर्ख लागिसक्यो, मकै गोड्न हुर्किसकेको छ’
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अहिले दाउरा काट्न र मकै गोड्न चटारो छ । घरबाहिर ननिस्कन र सामूहिक भेटघाट नगर्न जानकारी गराइए पनि खेतीपातीको काम गर्न स्थानीयवासीको बाध्यता भएको गाउँपालिका उपप्रमुख फूलमाया लिम्बू बताउँछिन् । ‘बारीमा मकै गोड्न हुर्किसकेको छ । बर्षभरि बाल्ने दाउरा अहिले नकाटे बर्ख लागिसक्यो । कोरोनाको बारेमा थाहा भएर पनि गाउँलेहरु डराई-डराई खेतबारीमा निस्कनु भएको छ,’ शनिबार दिउँसो न्युज कारोबारसँगको टेलिफोन सम्पर्कमा उपाध्यक्ष लिम्बुले गाउँको अवस्था सुनाइन् ।
पहाडमा मात्र होइन तराईका ग्रामीण भेगहरुमा पनि मानिसहरु खेतबारीमा व्यस्त छन् । गहुँ र रहर दाल थन्क्याउनमा किसानहरु धमाधम रहेको धनुषाको शहीदनगर नगरपालिकका प्रमुख उदयकुमार बरबरीया यादवले बताए । ‘खेतीपाती नगरी के गर्ने र ! हात-मुख जोर्नै पर्यो । लकडाउनले सबैभन्दा बढी समस्या किसानहरुलाई पार्दोरहेछ,’ नगर प्रमुख यादवले भने । खेतबारीमा काम गरे पनि अरु बेलाजस्तो भीडभाड नगर्न अनुरोध गरिएको उनले बताए ।
बाहिरबाट आएकाहरुबाट त्रास
कालिकोटको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धिरबहादुर विष्टले जिल्ला सदरमुकामलगायत अन्य सहर तथा भारत र विदेशबाट आएकाहरुबाट गाउँमा सबैभन्दा बढी त्रास फैलिएको बताए । ‘अनावश्यक रुपमा नडराउन सबैलाई भनेका छौँ । साबुन, मास्क वितरण गरिएको छ । क्वारेन्टाइन बनाएका छौँ,’ उनले भने । अध्यक्ष विष्टका अनुसार भारतबाट गाउँ फर्केका ३० जनालाई गाउँपालिकाले १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाएको छ ।

‘उनीहरुमा केही समस्या नदेखिएपछि घर जान दियौं,’ उनले भने । टेलिफोन कुराकानीमा उनले पनि नरहरिनाथ र छिमेकी गाउँपालिकाका सर्वसाधारणहरु खेतीपाती र घाँसदाउराको काममा व्यस्त रहेको जानकारी दिए । ‘वस्तुभाउ पालेपछि घाँस खुवाउनै पर्यो । बालीनाली नलगाई पछि के खाने ! जनजीवन सामान्य छ,’ गाउँपालिका प्रमुख विष्टले भने, ‘दैनिक कामव्यवहार सामान्य रुपले चलिरहे पनि गाउँमा त्रास भने छ । गाउँलेहरु डराएका छन् ।’
सरकारले लकडाउन घोषणा गर्नुअघि र त्यसपछिको मानिसहरुको आवतजावत अत्यधिक भएकाले पनि कोरोना भाइरस गाउँ-गाउँसम्म फैलिएको हुनसक्ने कतिपयको आशंका छ । लकडाउन हुनु अघिसम्म भाइरसको संक्रमण फैलिएका देशहरुबाट निर्वाध रुपमा नेपालमा मानिसहरुको आवतजावत भएको थियो । भारतबाट हजारौंको संख्यामा घर फर्केकामध्ये कतिपय क्वारेन्टाइनमा बस्न नमानेको घटनाले पनि संक्रमण फैलिनसक्ने त्रास बढेको हो ।
सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोनाको त्रास उच्च छ । भारतबाट आउनेहरुको संख्या बढी हुनु र देशभर भेटिएका संक्रमितमध्ये आधाजसो सुदूरपश्चिमकै भएका कारण प्रदेशभर त्रास छाएको छ । सहर-बजारहरु लकडाउनका कारण सुनसान छन् । तर ग्रामीण क्षेत्रहरुमा भने कामको चटारोले छाडेको छैन । तुलनात्मक रुपले सुगम मानिने कैलाली र कञ्चनपुरमा गहुँ भित्र्याउन भ्याइनभ्याई छ ।

लकडाउनले ‘सहज’
कैलालीको गोदावरी नगरपालिका- १०, ओलानीकी निर्मला खड्काले गहुँ काट्नमा व्यस्त रहेको बताइन् । ‘गहुँ पाकिसक्यो काट्नै पर्यो,’ उनले भनिन्, ‘भाइरस फैलिएको त थाहा छ तर पाकेको बाली नभित्र्याए के खाने ?’
शैक्षिक संस्था र सरकारी कार्यालयहरु बन्द हुँदा गाउँघरतिरका स्थानीयले अझ ‘सहज’ महसुस गरेका छन् । गाउँमा लकडाउनले प्रभाव त पारेको छैन नै विद्यालय जानेहरुको समेत बिदा भएका कारण घर र खेतीपातीको काम गर्न मौका मिलेको छ । बैतडीको सुर्नया गाउँपालिका- २ की राधा बिष्टले सबैजना घरमै भएका कारण काममा सहयोग पुगेको बताइन् । ‘घरमा गाईभैंसी पालेको छ । भाइरस आयो त भन्छन् तर गाईभैंसीलाई घाँस नकाटेर भोकै राख्न मिलेन,’ उनले समस्या सुनाइन्, ‘गहुँ काट्ने बेला भइसकेको छ । खेतीपातीको काम त गर्नैपर्यो ।’
अध्ययन र रोजगारीका लागि सहर पसेकाहरु समेत फर्केपछि गाउँको माहौल अहिले ‘गुल्जार’ बनेको छ । नियमित काममा व्यस्त रहेका उनीहरु अरु बेलाजस्तै भेटघाट र घुमफिरमा मस्त छन् । स्थानीय तहका केन्द्रहरुमा चहलपहल र पहिलेजस्तो आवतजावत नभए पनि गाउँघर ‘साविककै लय’मा रहेको संखुवासभाको मादी नगरपालिकाका शंकर दाहालले बताए । ‘औपचारिक कार्यक्रमहरु चाहिँ भएका छैनन् । बिहे, व्रतवन्ध भएको छैन । तर कसैको मृत्यु भइहाले मलामी जानैपर्यो । खेतबारीको काम भइ नै रहेको छ,’ उनले भने ।

प्रकाशित समय ०९:२९ बजे

















