गृहपृष्ठ ८० वर्षीया पदमकुमारीको लकडाउन ‘डायरी’ : दिनहुँ रामघाट बगरमा
८० वर्षीया पदमकुमारीको लकडाउन ‘डायरी’ : दिनहुँ रामघाट बगरमा
लकडाउन धेरैको लागि पट्यारलाग्दो बनेको छ । कतिपयले भने घरभित्रै बसेर पनि सिर्जनात्मक कामहरु गरिरहेका छन् । अधिकांशलाई दिन कटाउन मुश्किल परिरहेको होला । सार्वजनिक गतिविधिहरु कम हुने भएकाले म पनि अघिको तुलनामा केही फुर्सदिलो नै छु, फाट्टफुट्ट रिपोर्टिङ गर्नेबाहेक खासै व्यस्तता छैन ।
हिजो आज प्रायजसो कोरोना महामारीसँग सम्बन्धित समाचारहरु मात्र प्रकाशन भइरहेका छन् । यस्तोमा केही फरक विषयवस्तुमा के लेख्ने त ? भन्ने सोच गरिरहेको थिएँ । मेरो मनमा एकाएक पोखरा- १०, रामघाटको याद आयो । लकडाउनको बेला घरबाहिर निस्कुँ कि ननिस्कुँको दोधारबीच म रामघाट पुगेँ ।
त्यहाँ पुग्दा गिट्टी कुट्ने र बालुवा चाल्नेहरुको जमात थियो । उनीहरु टन्टलापुर घामलाई वेवास्ता गर्दै काममै व्यस्त थिए । त्यही जमातमा मेरो नजर ८० वर्षीय वृद्धातर्फ पर्यो । पसिनाले उनको शरीर निथ्रुक्कै भिजेको थियो । मध्यान्हको चर्को घाममा वेपर्वाह उनी वालुवा चाल्नमै व्यस्त थिइन् । कुराकानी गर्ने विचारले म उनको नजिकै पुगेँ ।
उनको नाम पदमकुमारी अर्याल रहेछ । धादिङबाट आएको बताउने उनले आफ्नो उमेर ८० वर्ष बताइन् । हाल उनको बसोवास पोखरा- ९, राममन्दिरमा रहेछ ।

सामाजिक हिसाबले ‘बसी खाने’ उमेरकी उनको दिनचर्या वालुवा चालेरै बितेको वर्षौ भइसकेको रहेछ । ‘यस्तो घाममा गर्मी हुँदैन आमा ?’ मेरो प्रश्नमा उनको जवाफ थियो, ‘गर्मी भएर के गर्नु र नानी । काम नगरेर के खानु !’ लकडाउन सुरू भएयता पनि दिनहुँ रामघाट धाउनु उनको दैनिकी हो ।
कोरोना महामारीबाट बच्न सरकारले लागू गरेको लकडाउनको मारमा कोही परेका छन् भने पदमकुमारी जस्ताहरु हुन् । जो दैनिक मजदुरी गरेर पेट पाल्छन् । जोसँग आउँदो दिनका लागि भनेर सञ्चय गरेको खाद्यान्न छैन, नत पैसा नै । सरकारले स्थानीय निकायमार्फत यस्तै वर्गका लागि भनेर राहत वितरण गरिरहेको छ । विभिन्न संघसंस्थाले पनि दैनिक उपभोग्य सामग्रीहरु राहतस्वरुप बाँडिरहेका छन् ।
तर यिनै वर्ग सरकारले वितरण गरिरहेको राहतबाट वञ्चित छन् । देश नै लकडाउन भएको बेलामा पनि रोजीरोटीको लागि घरबाहिर निस्कनु ‘पदमकुमारी’हरुको रहर होइन । विवशता हो । रामघाट बगरमा भेटिएका सबै मजदुरहरु उस्तै हालतका थिए ।
प्रकाशित समय १६:२७ बजे

















