गृहपृष्ठ कोरोना संक्रमणबाट गम्भीर बिरामी हुनेको संख्या घट्दै, परीक्षण दर उच्च

कोरोना संक्रमणबाट गम्भीर बिरामी हुनेको संख्या घट्दै, परीक्षण दर उच्च

विश्वभर कोरोनाभाइरस (कोभिड १९) संक्रमणको आशंकामा परीक्षण दर तीव्र गतिमा बढाइँदै जाँदा गम्भीर बिरामी हुनेको संख्या भने घट्दै गएको छ । विगतमा सामान्य अवस्थाका संक्रमित ९४ प्रतिशत र गम्भीर अवस्थाका संक्रमित ६ प्रतिशत रहेकोमा अहिले सो अनुपात घटेर ९७:३ मा झरेको छ ।

परीक्षण दर उच्च रुपमा बढेको छ । नेपाली समयअनुसार मंगलबार बिहानसम्ममा अमेरिकाले मात्रै ४० लाख मानिसको परीक्षण गरेको छ । जसमा ७ लाख ९२ हजार ८५९ संक्रमित फेला परेका छन् । तीमध्ये ४२ हजार ५१४ जनाको मृत्यु भइसकेको छ । ७२ हजार ३८९ जना सफल उपचारपछि घर फर्किसकेका छन् । ६ लाख ७७ हजार ८५६ जनाको उपचार भइरहेकोमा १३ हजार ९५१ जना गम्भीर छन् ।

त्यस्तै रूसले २० लाख ५३ हजार, जर्मनीले १७ लाख १८ हजार, इटालीले १३ लाख ९८ हजार, स्पेनले ९ लाख ३० हजार, यूएईले ७ लाख ९० हजार, क्यानडाले ५ लाख ५९ हजारभन्दा बढीको परीक्षण गरेका छन् । चीनले भने परीक्षण स्थिति सार्वजनिक नगरेको वर्ल्डोमिटरले जनाएको छ ।

भारतमा ४ लाख १ हजार ५८६ जनाको परीक्षण गर्दा १८ हजार ५३९ संक्रमित फेला परेका छन् । तीमध्ये ५९२ जनाको मृत्यु भइसकेको छ भने ३ हजार २७३ उपचारपछि घर फर्किसकेका छन् । १४ हजार ६७४ जनाको उपचार भइरहेको छ । भारतमा कोही पनि गम्भीर बिरामी परेका छैनन् ।

नेपालले पनि परीक्षण दर उच्च रुपमा बढाएको छ । सोमबार बेलुकासम्ममा नेपालमा २९ हजार ५६७ जनाको परीक्षण गरिएकोमा ३१ संक्रमित पुष्टि भएका छन् । तीमध्ये चार जना उपचारपछि घर फर्किएका छन् । २७ जनाको उपचार भइरहँदा कसैको अवस्था गम्भीर नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच, कोरोना संक्रमणबाट २४ घण्टामा ५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमितको संख्या २४ लाख ८१ हजार नाघेको छ भने १ लाख ७० हजार ४२५ ले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय ०७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु