गृहपृष्ठ २२ जनामा कोरोना भेटिएपछि उदयपुरलाई ‘सिल’ गर्ने तयारी, देशभर संक्रमित संख्या ४० पुग्यो
२२ जनामा कोरोना भेटिएपछि उदयपुरलाई ‘सिल’ गर्ने तयारी, देशभर संक्रमित संख्या ४० पुग्यो
उदयपुरको भुल्केमा थप ८ जनामा कोरोना भाइरस (कोभिड- १९) को संक्रमण रहेको पुष्टि भएको छ । यससँगै भुल्केमा संक्रमितको संख्या २२ पुगेको छ । नेपालभर भने ४० जनामा संक्रमण देखिएकाे छ । यसमध्ये ४ जना निकाे भएर घर फर्किसकेका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका- ३, भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर- १७ का एक जनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । विराटनगरका एक जनामा शनिबार संक्रमण भेटिएको थियो । नेपाली सेनाको सहयोगमा मस्जिद भएको बस्ती क्षेत्रका २ सय ५१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौंमा परीक्षण गर्दा एकजनामा संक्रमण भेटिएको छ ।
एकैपटक १२ जनामा संक्रमण देखिएपछि प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालाको टोली स्वाब परीक्षणका लागि भुल्के पुगेको थियो । सो टोलीले मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ कर्मचारीको शनिबार थ्रोट स्वाबको नमूना संकलन गरिएको थियाे ।
उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको विराटनगरस्थित कोसी अञ्चल अस्पतालकी मेडिकल सुपरिटेन्डेनन्ट संगीता मिश्रले बताइन् । अञ्चल अस्पतालमा रिपोर्ट शंकास्पद देखिएपछि ८ जनाकाे स्वाब थप परीक्षण गर्न धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे ।

पछिल्लाे ८ जना संक्रमित त्यसै मस्जिद क्षेत्रका बासिन्दा भएकाे बताइएकाे छ । उदयपुरका संक्रमण पुष्टि भएकामध्ये ११ नेपाली र ११ भारतीय नागरिक हुन् ।
चारैतिरबाट जिल्ला ‘सिल’
प्रदेश १ सरकारले मंगलबारबाटै उदयपुर जिल्लालाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ । अन्य जिल्लामा संक्रमण फैलिन नदिन यस्ता निर्णय गरिएकाे प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताए ।
‘उदयपुरभित्रै एक ठाउँबाट अन्यत्र र जिल्लाबाहिर कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय भएकाे छ,’ उनले भने । उनका अनुसार मस्जिदमा आएका र संक्रमितहरूसँग सम्पर्क भएका अन्यकाे पनि ‘कन्ट्रयाक ट्रेसिङ’ परीक्षण गर्ने तयारी भइरहेकाे छ ।
प्रकाशित समय १९:१५ बजे

















