गृहपृष्ठ पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न महासंघको आग्रह
पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न महासंघको आग्रह
नेपाल पत्रकार महासंघले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने ठूला सञ्चार गृहका पत्रकारलाई तलब नदिएकाप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यसहितको बैठकपछि आज जारी प्रेस विज्ञप्तिमा दबावपूर्ण बेतलवी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानलाई तत्काल पारिश्रमिक भुक्तानी गर्न आग्रह गरिएको छ ।
कोरोनाको संक्रमणले उत्पन्न गराएको संकटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया ग्रुपसम्बद्ध पत्रकारलाई दबाव दिएर बेतलवी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रालि, एभिन्युज टेलिभिजन, राजधानी दैनिक सहितका कतिपय सञ्चार गृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।
महासंघले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । बैठकले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानूनीलगायतका संघर्ष गर्न महासंघले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई प्रभावित पारिरहेको सन्दर्भमा आम सञ्चारकर्मी उच्च जोखिमका बीच जनतालाई सुसूचीत गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीको र्यापिड टेस्टसहित परीक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ ।
कोरोना संक्रमण उच्च जोखिम मोलेर जनतालाई सुसूचीत गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न महासंघले आह्वान गरेको छ ।
प्रकाशित समय १९:०५ बजे

















