गृहपृष्ठ मोहनापुल-अत्तरिया सडकको काम सुचारु हुँदा मजदुरहरु खुशी

मोहनापुल-अत्तरिया सडकको काम सुचारु हुँदा मजदुरहरु खुशी

लकडाउनका कारण १ महिनादेखि रोकिएको मोहनापुल-अत्तरिया ६ लेन सडकको निर्माण कार्य सुचारु भएको छ । सामाजिक दुरी कायम गर्दै काम गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले स्वीकृति दिएपछि बिहीबारदेखि निर्माण कार्य सुरु भएको आयोजनाका इञ्जिनियर लक्ष्मण रावलले बताए ।

सडकको काम हालसम्म ६० प्रतिशतमात्र सम्पन्न भएको छ । सम्झौताअनुसार यही जेठभित्र काम सम्पन नहुने देखिएपछि माघ दोस्रो सातासम्मका लागि म्याद थप गरिएको छ । लकडाउनका कारण एक महिनादेखि काम गर्ने नपाएका मजदुरहरु पनि आजदेखि काममा आउन पाएकोमा खुशी छन् ।

ठेकेदारले फागुनमा काम गरेको पनि पैसा नदिएका कारण ‘पैसा पाइन्छ कि’ भन्ने आशामा काम गर्ने आएको मजदुरहरुले बताए । मजदुर जितबहादूर राजीले लकडाउनका कारण दैनिक जीवन यापन गर्ने समस्या भएको गुनासो गरे । काम सुचारु भएपछि नियमित ज्याला पाउने हुँदा गुजारा चलाउन सहज हुने सडक आयोजनामा काम गरिरहेका मजदुरहरुको अपेक्षा छ ।

भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि धनगढीको मोहनापुलदेखि अत्तरियासम्म छ लेन सडक विस्तारको काम हुँदै आएको छे । लकडाउनका कारण रोकिएको सडक विस्तारको काम सुचारु भएपछि अब ३ वटा ठेक्कामा आवद्ध करिब एकसय जना मजदुरले काम पाउने छन् ।

एक अर्ब ६८ करोड लागतको सो सडक आयोजना ३ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता भएको छ । ३ वटै खण्डमा एकतर्फी कालोपत्रेको काम ८० प्रतिशत पुरा भइसकेको इञ्जिनियर रावलले बताए । उनका अनुसार बाँकी एकतर्फीमा भने बेस हाल्ने काम भइरहेको छ । ‘लकडाउनका कारण यसअघि जस्तो तीव्र गतिमा काम हुने सम्भावना कम छ । आवश्यक निर्माण सामग्री स्टकमा रहेकाले त्यसैलाई प्रयोग गरिएको हो,’ उनले भने ।

विश्व महामारीका रुपमा फैलिएको कोराना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले लागूको गरेको लकडाउनका कारण सबै क्षेत्र प्रभावित भइरहेको बेला विकास निर्माणका काम सुचारु हुनु सकारात्मक भए पनि सचेतना अपनाउन सरोकारवालाहरुको सुझाव छ ।

प्रकाशित समय २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु