गृहपृष्ठ धनगढीमा उपभोक्तालाई खाद्यान्न अभाव
धनगढीमा उपभोक्तालाई खाद्यान्न अभाव
विश्वव्यापी कोरोना भाइरसले नेपालमा समेत प्रवेश गरेसँगै देश पुरै लकडाउन छ । लकडाउन भएसँगै खाद्यान्न पसलदेखि तरकारी पसलसमेत बन्द अवस्थामा छन् । कोरोनाको बढी जोखिममा रहेको सुदूरपश्चिममा पनि लकडाउनको पूर्ण प्रभाव परेको छ । लकडाउनका कारण नागरिकले दैनिक उपभोग्य सामग्री खरिद गर्नसमेत पाएका छैनन् ।
लकडाउनका कारण नागरिकको जनजीवन प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् भने २ जनाको उपचार भइरहेको छ । कोेरोनाको संक्रमण बढ्दै गइरहेका बेला सरकारले लकडाउनमा पनि कडाई गरेको छ ।
लकडाउनमा कडाई भएसँगै खाद्यान्न खरिदमा नागरिकलाई निकै समस्या भएको छ । आर्थिक समस्या नभए पनि खाद्यान्न खरिद गर्न नपाउँदा समस्या सिर्जना भएको छ । खाद्यान्न पसलहरुसमेत पूर्ण रुपमा बन्द भएपछि धनगढीका नागरिकहरु समस्यामा परेका हुन् । धनगढी उप–महानगरपालिकाले घुम्ती खाद्यान्न वितरण सुरु गर्ने भने पनि हालसम्म आफूसम्म नपुगेको धनगढी उप–महानगरपालिका १ का तुलबहादुर बुढाले बताएका छन् ।
उपभोग्ताले खाद्यान्न खरिद गर्न नपाएको समस्या एकातिर छ भने, उत्पादकले बिक्री गर्न नपाएको समस्या पनि उत्तिकै छ । उत्पादकले उपभोग्तासम्म समानसमेत पु-याउन पाएका छैनन् । नागरिकहरुले खाद्यान्नसँगै तरकारीको समेत अभाव झेलिरहे पनि तरकारी किसानको तरकारी भने बारीमै कुहिन थालेको छ । लकडाउनका कारण बजारसम्म तरकारी पु-याउन नपाएपछि किसानको तरकारी बारीमै कुहिन थालेको धनगढीका किसान जलिल अहमदले बताए ।
यता धनगढी उप–महानगरपालिकाले भने नागरिकको सहजताका लागि खाद्यान्न घर घरमै पु-याउने व्यवस्था गरेको दावी गरेको छ । करिब १५ दिनदेखि सहर क्षेत्रमा खाद्यान्न लगेर सवारी साधन घुमिरहेको उपमहानगरले जनाएको छ । खाद्यान्न नपुगेको क्षेत्रमा खाद्यान्न पुगाउन थप संयन्त्र परिचालन गरिने उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले बताए । लकडाउनलाई पूर्ण प्रभावकारी बनाउन खाद्यान्न घुम्ती सवारीमा पठाइरहेको जानकारी दिदै नगरप्रमुख वडले दैनिक १० देखि १५ सवारी साधनमा खाद्यान्न पठाइरहेको बताएका छन् ।
उप–महानगरपालिकाले घुम्ती सवारी साधनमार्फत् खाद्यान्न तथा तरकारी उपमहानगरबासीको घर दैलोमा पु-याइरहेको दावी गरे पनि अधिकांश नागरिकले खाद्यान्न खरिद गर्न नपाएको गुनासो गरेका छन् । यही समस्याले बिहान र साँझको समयमा उपमहानगरका गल्लीहरुमा छिटफुट खाद्यान्न पसल खुल्ने र उपभोक्ताको भिड हुने क्रम पनि बढ्दै गएको छ ।
प्रकाशित समय १०:५४ बजे

















