गृहपृष्ठ बाजुराका क्वारेन्टिनमा बस्नेलाई ‘बेञ्च’ मात्र !

बाजुराका क्वारेन्टिनमा बस्नेलाई ‘बेञ्च’ मात्र !

फाइल तस्बिर

बाजुराको खप्तड छेडेदह गाउँपालिकामा बनाइएका क्वारेन्टिन व्यवस्थित नभएको गुनासो आएको छ । गाउँपालिकाले दशरथ मावि, मष्टेश्वरी मावि, देवस्थलीलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिहेको छ ।

सोही गाउँपालिका–२ माटेसाँघुमा रहेको देवस्थली माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गरेको भए पनि व्यवस्थापन राम्रो नभएको क्वारेन्टिनमा बसेका यज्ञ शाहीले बताए । बस्ने बेञ्चबाहेक अन्य कुनै पूर्वाधार नभएको र अमानवीय व्यवहार गरिएको उनीहरुले आरोप लगाए ।

हाल धनगढीबाट आएका २५ जना सोमबारबाट उक्त क्वारेन्टिनमा बस्न थालेका छन् तर उनीहरुको बसाइ र सुरक्षाको अवस्था असुरक्षित र अव्यवस्थित छ ।

क्वारेन्टिनमा बस्दा स्वास्थ्य जाँच गर्नुपर्ने भए पनि कुनै पनि जाँच नगरेको र जाँचबिना नै क्वारेन्टिनमा राखिएको उनीहरुको गुनासो छ । २५ जनामा महिला र बालबालिका भए पनि व्यवस्थापन भने केही नभएको पाइएको छ । आफूहरुले घरबाट आफन्तसँग लुगा मगाएर बस्ने गरेको शाहीको भनाइ छ । वडाध्यक्ष मीनबहादुर शाहीले भने आफूहरुले व्यवस्थापन गर्न लागिपरेको र गलत प्रचारमा नलाग्न आग्रह गरे ।

धेरै जना एकसाथ आएकाले केही असुविधा भए पनि व्यवस्थापन तत्काल गर्ने गरी काम भइरहेको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले भने त्यसबारे बुझेर व्यवस्थापनका लागि सहजीकरण गर्ने बताए ।

खानेपानीको समेत अभाव
पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकुको स्वामीकर्तिक माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानीसमेतको अभाव हुँदा क्वारेन्टिनमा बस्नेले दैनिक कष्ट भोग्दै आएका छन् । क्वारेन्टाइनमा खान, बस्न र लत्ताकपडाको उपलब्धताभन्दा पनि खानेपानीसमेत अभाव रहेको पाइएको छ । जुकुमा सञ्चालनमा रहेको क्वारेन्टिनमा खानेपानीसमेत नभएको क्वारेन्टिनमा बसेका दिनेश खत्रीले बताए ।

उनले तीन दिनदेखि गाउँपालिका र वडा कार्यलयले क्वारेन्टिनमा राखे पनि खान, लत्ताकपडासमेत आफ्नै घरबाट ल्याउनुपरेको गुनासो गरे । जिल्ला बाहिरबाट आएर गाउँपालिकाका वडाले निर्माण गरेका क्वारेन्टिनमा बसेर आधारभूत आवश्यकता खानेपानी, खान, बस्न र ओछ्याउनेसमेतको व्यवस्था नभएकाले कष्टकररूपमा दैकिनी बिताउनुपरेको नरेश खत्रीले दुखेसो गरे ।

स्वामिकार्तिक खापर गाउँपालिका–३ का वडाध्यक्ष वीरजित कट्टेलले क्वारेन्टिनमा बसेकाका लागि खानेपानी, ओढ्नेओछ्याउने, खान र बस्नका गरेको बताए । (रासस)

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु