गृहपृष्ठ जवानीमा अपराध, बुढेसकालमा पक्राउ
जवानीमा अपराध, बुढेसकालमा पक्राउ
जन्मकैद सजाय तोकिएका फरार प्रतिवादी चापाकोट नगरपालिका- ८ का ६७ वर्षीय डिल्लीबहादुर घर्तीलाई घटना घटेको ४४ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ । फरार रहेका घर्ती २०३३ साल वैशाख २ गते तत्कालीन रत्नपुर गाँउपञ्चायत हाल चापाकोट नगरपालिका- ८, कालीगण्डकी नदी किनारास्थित खोरियाघाटको मेलामा एक व्यक्तिको हत्यामा दोषी ठहर भएका थिए ।
घटना विवरणअनुसार घर्तीले मेलामा पाल्पाको तत्कालीन गोदारछाप गाँउ पञ्चायतका भारतीय सेनामा कार्यरत रही घर बिदामा आएका २४ वर्षीय जीतबहादुर रानालाई कुटपिट गरी कालीगण्डकी नदीमा फालेर बेपत्ता बनाएका थिए । घटनाको ३ दिनपछि घटनास्थलभन्दा करिब ४ सय मिटर टाढा कालीगण्डकी नदीमै जीत बहादुरको शव फेला परेको थियो ।
सो घटनामा संलग्न १३ जनालाई जिल्ला अदालत स्याङ्जाले २०३६ माघ १७ गते कसूरदार ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन भई सो अदालतबाट २०३९ कात्तिक २४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर भएको र प्रतिवादीहरूले पुन: सर्वोच्चमा पुनरावेदन गरेकोमा त्यहाँ पनि २०४० माघ ८ गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरेको थियो ।
जन्म कैदको सजाय तोकिएपश्चात फरार रहेका प्रतिवादी मध्येका डिल्लीबहादुरलाई घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला अदालत स्याङ्जामा पेश गरेको थियो । अदालतको आदेशले सजाय भुक्तानको लागि उनलाई जिल्ला कारागार स्याङ्जा पठाइएको छ ।
फरार प्रतिवादीमध्ये तत्कालीन रत्नपुर गाउँ पञ्चायत- ८ बस्ने हाल ७० वर्षीय भक्तबहादुर कुमाललाई २०७१ माघ ६ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार कास्कीमा सजाय भुक्तान गरिरहेका छन् । अर्का फरार प्रतिवादी तत्कालीन रत्नपुर गाउँ पञ्चायत- ८ हाल चापाकोट नगरपालिका- ८ घर भएका तत्काल चापाकोट टार सिंचाई आयोजनामा पियन पदमा कार्यरत हाल ६५ वर्षीय देवीबहादुर घर्तीलाई २०७५ भदौ २१ गते प्रहरीले पक्राउ गरेको थियो । उनी हाल जिल्ला कारागार पाल्पामा सजाय भुक्तान गरिरहेका छन् ।
घटनामा संलग्न रही फरार रहेका अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रकाशित समय १९:१६ बजे

















