गृहपृष्ठ ताप्लेजुङ आगलागी : एउटै दमकल हुँदा बढी क्षति भयो
ताप्लेजुङ आगलागी : एउटै दमकल हुँदा बढी क्षति भयो
सोही ठाउँमा ५ वर्षअघि पनि भीषण आगलागी हुँदा ३७ घर जलेका थिए : मादेन
ताप्लेजुङको सदरमुकाम फुङलिङमा शुक्रबार राति आगलागी हुँदा ७ घर जलेर नस्ट भएका छन् । राति १० बजेतिर लागेको आगो पर्याप्त नियन्त्रण सामाग्री नहुँदा बढी क्षति भएको स्थानीयले बताएका छन् ।
जिल्ला समन्वय समितिका ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनका अनुसार आगलागी भएको जानकारी पश्चात् पनि साधन नहुँदा बढी जलेको हो । न्युज कारोबारसँग कुरा गर्दै उनले भने, ‘मैले त राति साढे १० बजेतिर थाहा पाएको हुँ । त्यो बेलामा घटनास्थलमा जाँदा भयानक रुपमा घरहरु जलिरहेका थिए । नियन्त्रणका लागि सबै सुरक्षा निकाय र स्थानीयहरु उपस्थित थिए तर, नियन्त्रण सामाग्रीको कमीले गर्दा बढी क्षति हुन पुग्यो ।’
फुङलिङ बजारमा रहेको भट्टराई होटल एण्ड लजबाट सुरु भएको आगलागीले ६ घर पूर्ण रुपमा जलेर नस्ट भएका छन् भने एक घरमा आंसिक क्षति भएको उनले बताए । ‘५ वटा कच्ची घर जले, त्योसँगै भएको एक आरसिसी घर पनि पूर्ण रूपमा जलेको छ । त्यो घरभित्र खाद्य सामाग्री तेललगायतको गोदाम थियो । गोदाममा बढी तेल भएका कारण बढी जलेको हुनसक्ने हामीले अनुमान लगाएका छौं । त्यसपछि अर्को आरसिसी घरमा पनि आगोले प्रवेश गर्यो त्यसै घरबाट आगो नियन्त्रणमा लिइएको हो ।’
एउटै दमकल हुँदा कम क्षतिमै नियन्त्रणमा आउने आगो बढी समय–क्षति भएको उनले बताए । ‘दुईवटा दमकल भएमा एउटा पानी भर्ने र अर्को निभाउन सजिलो हुन्थ्यो तर, एउटै भएका कारण एकचोटी पानी भरेर ल्याउने र निभाउन प्रयास गर्ने गर्दा गर्दै लामो समय लाग्यो ।’
स्थानीय बासिन्दा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा बिहान ५ बजेतिर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ‘आगलागी कसरी भयो, कति क्षति भयो भन्ने खुलेको छैन ।’ जिल्ला समन्वय समिति प्रमुख मादेनले भने, ‘हिजोको आगोले धेरै क्षति हुने थियो । अन्मिममा जलेको घर पाँच तले र आरसिसी भएको हुुुँदा त्यो भन्दा उता जान पाएन । आगो लागेको छेउतिर बढी झ्याल भएको हुँदा त्यो घरमा सजिलै आगो पसेको थियो । सबैको सहयोग त्यसै घरमा आगो नियन्त्रण गरिएको हो ।
मादेनका अनुसार सोही स्थानमा ५ वर्षअघि पनि भीषण आगलागी भएको थियो । त्यो बेलामा ३७ घर जलेर नस्ट भएका थिए भने करोडौको क्षति भएको थियो ।
प्रकाशित समय ०८:१४ बजे

















