गृहपृष्ठ लकडाउन उल्लंघन बढेपछि प्रशासनद्वारा कडाइ, सवारी पास रद्द
लकडाउन उल्लंघन बढेपछि प्रशासनद्वारा कडाइ, सवारी पास रद्द
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसहित कैलालीका विभिन्न स्थानमा केही दिनयता लकडाउन उल्लंघन बढेपछि जिल्ला प्रशासन कार्यालयले कडाई गरेको छ । विभिन्न बहाना बनाएर मानिसहरु सडकमा आउने क्रम बढेपछि कोरोनाको जोखिम बढेको भन्दै प्रशासनले कडाई गरेको हो ।
धनगढीमा लकडाउनको व्यापक उल्लंघन भएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले वितरण गदै आएको पास पनि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । दैनिक उपभोग्य वस्तु खरिदका लागि केही दिन बजार खुला गरिए पनि आजदेखि लकडाउनमा कडाई गर्ने र अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर निस्कन नपाउने निर्णय गरिएको प्रजिअ बोहराले जानकारी दिए । लकडाउनलाई वेवास्ता गर्दै मानिस सडकमा पैदल तथा सवारी साधनसहित निस्कन थालेपछि अब कडाई गरिने र अटेर गर्नेलाई कानुनी कारबाही गरिने प्रजिअ बोहराको भनाइ छ ।
‘कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनको सबैले पालना गर्न आवश्यक छ । तर यसको अवज्ञा हुन थालेकाले थप कडाइ गर्न लागिएको हो,’ उनले भने । लकडाउनलाई थप कडाई गर्न आवश्यक परे अन्य स्थानीय तहले प्रदान गर्दै आएको पाससमेत बन्द गरिने उनले बताए ।
प्रदेशका ९ वटै जिल्लाका विभिन्न स्थानमा लकडाउनको उल्लंघन गर्दै चलाईएका दुई हजार चार सय ९८ वटा सवारी साधन नियन्त्रणमा लिई कारबाही गरिएको छ । नियन्त्रणमा लिइएकामध्ये अधिकांशलाई सम्झाई-बुझाई गरी छोडिएको छ भने केहीलाई प्रचलित कानुनअनुसार जरिवानासमेत तिराइएको छ ।
ढुवानी साधनका पास रद्द
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन जारी भएका ढुवानी साधनका पास रद्द गरिएका छन् । लकडाउनका बेला खाद्यान्न लगायतका अत्यावश्यक वस्तु आपूर्ति गर्न विभिन्न मितिमा अवधि नतोकिएका पासहरु जारी गरिएका थिए । पासको दुरुपयोग भई ढुवानीका साधन प्रयोग गरिएकाले रद्द गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले काम गर्ने अनुमति पाएका आयोजनाहरुले पनि पुनः पास लिन सूचना जारी गरेको छ ।
उद्योग बन्द
उत्पादनमुलक अधिकांश उद्योग बन्द हुँदा सुदूरपश्चिममा खाद्यान्न आपूर्ति प्रभावित हुने भएको छ । लकडाउनको समयमा सरकारले उद्योगधन्दा सञ्चालनको पूर्ण अनुमति दिए पनि कैलालीका अधिकांश उद्योग बन्द छन् ।
कच्चापदार्थको अभाव, बजारीकरणमा समस्या र कामदारको व्यवस्थापन लगायतका समस्या भएपछि उद्योग सञ्चालन गर्न नसकिएको व्यवसायीले बताएका छन् । लकडाउनका कारण कैलालीमा साना-ठूला गरी ९५ उद्योग बन्द भएका छन् । घरेलु, मझौला, ठुला उद्योग गरी कैलालीमा सय बढी उद्योग रहे पनि अहिले ७/८ वटा मात्रै सञ्चालनमा छन् ।
सञ्चालनमा रहेका उद्योगधन्दा पनि कच्चापदार्थ अभाव तथा उत्पादित वस्तु बिक्रेताकहाँ पु¥याउन नसक्दा समस्यामा परेका छन् । सरकारले उद्योगधन्दा सुचारु गर्न भने पनि अन्य व्यवस्थापनमा सहयोग नगर्दा उद्योग सञ्चालनमा समस्या भएको राजश्री खाद्य उद्योगका सञ्चालक मनोज अग्रवाले बताए । जिल्ला प्रशासन कार्यालय कैलालीले भने उद्योगधन्दा सञ्चालनमा कुनै अड्चन नल्याइएको दावी गरेको छ ।
अहिले अत्यावश्यक खाद्यवस्तु उत्पादनका लागि उद्योगहरु खुला रहेकाले बन्द उद्योग सञ्चालनमा ल्याए कुनै समस्या नहुने जिल्ला आपूर्ति व्यवस्थापन समितिका अध्यक्ष तथा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । लकडाउनकै कारण उद्योगधन्दा बन्द रहे खाद्यसामग्री आपूर्तिमा समस्या हुने चिन्ता बढेको छ ।
प्रकाशित समय १८:४४ बजे

















