गृहपृष्ठ राहतमा कुहिएको चामल प्रकरणबारे धनगढी उपमहानगरले थाल्यो आन्तरिक छानबिन
राहतमा कुहिएको चामल प्रकरणबारे धनगढी उपमहानगरले थाल्यो आन्तरिक छानबिन
अख्तियारद्वारा खरिद प्रक्रियाका सबै कागजात नियन्त्रण
राहतमा कुहिएको र किरा परेको चामल वितरण गरेपछि विवादमा आएको धनगढी उपमहानगरपालिकाले बिहीबार छानबिन समिति गठन गरेको छ । वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा गठन भएको छानबिन समितिले वडा नम्बर ४ को गोदामबाट छानबिन सुरु गरेको छ ।
अहिलेसम्म १५ किलोग्राम तौल भएका तीन सय ५६ र २० किलोग्राम तौल भएका २० वटा पोका खोलिएको छ । १५ किलोग्राम तौल भएका तीन सय ५६ पोका खोल्दा दुई सय ६९ वटामा कुहिएको चामल भेटिएको समितिका संयोजक अधिकारीले जानकारी दिए । ‘८७ पोकामा चामल मात्रै उपभोग गर्न मिल्ने चामल छ । २० किलोग्राम तौल भएका पोकामा भने चामल राम्रै भेटियो,’ उनले भने । उनले तीन दिनभित्रै छानबिन सकेर उपमहानगरपालिकालाई प्रतिवेदन बुझाउने बताए । धनगढी उपमहानगरको कार्यापालिका बैठकले छानबिन समिति गठन गरेको हो ।
समितिमा वडा नम्बर ३ का अध्यक्ष बलबहादुर ऐर, वडा नम्बर ९ का अध्यक्ष प्रेमबहादुर भण्डारी, वडा नम्बर १३ का अध्यक्ष विजयराज जोशी र कार्यपालिका सदस्य गीता पन्त सदस्य तथा उपमहानगरपालिकाको कृषि शाखा प्रमुख लोकराज उपाध्याय सदस्यसचिव रहेका छन् । धनगढीका विभिन्न वडामा उपमहानगरपालिकाले वितरण गरेको राहतको चामल कुहिएको फेला परेपछि स्थानीयले फिर्ता गरेका थिए । धनगढी उपमहानगरपालिकाले २ करोड ६१ लाखमा ठाकुर ट्रेड लिंकलाई राहत सामग्री खरिदको ठेक्का दिएको थियो ।
अख्तियारद्वारा कागजात नियन्त्रण
धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको टोलीले छापा मारेको छ । अख्तियार टोलीले राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो । अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले राहतका सामग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न खरिद प्रक्रियाका सबै कागजपत्रको प्रमाणित प्रतिलिपी नियन्त्रणमा लिइएको बताए ।
बोलपत्र दर्ताको समय नसकिँदै र मूल्यांकनसमेत नगरी उपमहानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको पाइएको छ । उपमहानगरपालिकाले वैशाख ११ गते बोलपत्र आह्वान गरेकोमा दर्ताको समय १४ गते १२ बजेसम्म राखेको थियो । १४ गतेसम्म बोलपत्र दर्ताको समय भए पनि उपमहानगरपालिकाले भने १२ गते नै ठाकुर ट्रेड लिंकको बोलपत्र मूल्यांकनमा सफल भएको भन्दै स्वीकृतका लागि टिप्पणी उठाएको छ ।
१२ गते नै धनगढी उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्णप्रसाद जोशी, खरिद इकाई प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई टिप्पणी उठाएर स्वीकृतिका लागि पेश गरेका छन् । १३ र १४ गते मध्यान्ह १२ बजेसम्म पनि बोलपत्र दर्ता गर्न सक्ने समय उल्लेख गरिएको भए पनि १२ गते नै ठाकुर ट्रेडको बोलपत्र स्वीकृतिका लागि टिप्पणी उठाएको खुलेपछि ठेक्कामा मिलोमतो भएको आशंका बढेको हो ।
प्रकाशित समय १९:४५ बजे

















