गृहपृष्ठ असिना र हावाहुरीले उडायो आँप किसानको सपना
असिना र हावाहुरीले उडायो आँप किसानको सपना
फाइल तस्बिर
धनुषाको बटेश्वर गाउँपालिका र मिथिला नगरपालिकामा गत वैशाख १२ गते परेको भीषण असिना र जेठ ११ गते आइतबार साँझ आएको आँधीबेहरीले आँपमा ठूलो क्षति पुगेको छ । लटरम्मै फलेको आँप असिना र हावाहुरीले ८० प्रतिशत झारेपछि किसानहरु चिन्तित छन् ।
धनुषाको उत्तरवर्ती बटेश्वर र मिथिला क्षेत्रमा व्यावसायिक रुपमै आँप खेती हुँदै आएको छ । आँप सो क्षेत्रको मुख्य नगदेबाली हो । आँपकै आम्दानीले घरखर्चदेखि छोराछोरीको पढाइ खर्च चल्ने गरेको छ । यस पटक आपँमा फूल (मञ्जर) लागेदेखि नै लकडाउनले गर्दा औषधि छर्किन नपाएको किसानहरुको गुनासो छ । अझ दुई-दुई पटकको प्राकृतिक विपदको सामना गर्नु पर्दा अब घरखर्च कसरी चलाउने भन्ने चिन्ताले उनीहरु पिरोलिएका छन् ।
असिना र हावाहुरीले भुइँभरि आँप झारेपछि किसानहरुले करोडौं रुपैयाँ क्षति भएको छ । यो पटकको क्षतिले आफूहरुलाई अत्यन्त पीडा भएको बटेश्वर- १, चित्रपुरका पिछडा वर्ग महासंघका केन्द्रीय महासचिव नथुनी कुशवाहाले बताए । ‘मेरो मात्रै ५ देखि ६ लाखको क्षति भएको छ । वार्षिक १० लाख रुपैयाँ आँपबाट आम्दानी हुन्थ्यो । यसपटक आँप खरिद गर्ने व्यापारीहरु समेत गाउँमा आउन सकेका छैनन्,’ कुशवाहाले पीडा पोखे ।
यतिबेला बटेश्वर र मिथिला क्षेत्रका आँप बगैंचा र किसानको घर-घरमा झरेको आँपको थुप्रो छ । किसानहरु बिहानैदेखि झरेको आँप गरिरहेका छन् । यसरी जम्मा गरेको आँप लकडाउनले गर्दा बजारसम्म लैजानसमेत किसानहरुले नसकेको बटेश्वरका स्थानीय शिक्षक रामवृक्ष महतोले बताए । उनले भने, ‘अधिकांश आँप झरेको छ । यसपालि किसानलाई धेरै ठूलो क्षति भयो ।’
वैशाख १२ गतेको असिनाले पुर्याएको क्षतिपछि स्थानीय जनप्रतिनिधि, प्रदेश सांसद, प्रदेश मन्त्री तथा संघीय सांसदहरुको टोलीले समेत सो क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । सो क्रममा उनीहरुले किसानलाई ठूलो क्षति भएकाले उचित क्षतिपूर्तिको लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर अहिलेसम्म पनि क्षतिपूर्तिका लागि कहीँ-कतैबाट पहल नभएपछि पीडित किसानहरुले स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उचित क्षतिपूर्तिका लागि प्रदेश सरकारसमक्ष आफूले सक्दो पहल गर्ने बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले बताए ।
प्रकाशित समय २१:२४ बजे

















