गृहपृष्ठ प्रधानमन्त्रीले भने- भारतबाट विश्व स्वास्थ्य संगठनको प्रोटोकल उल्लंघन

प्रधानमन्त्रीले भने- भारतबाट विश्व स्वास्थ्य संगठनको प्रोटोकल उल्लंघन

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले विश्व स्वास्थ्य संगठनको प्रोटोकल उल्लंघन गरेका कारण नेपालमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन सहयोग पुगेको बताएका छन् ।

]’विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो,’ देशबासीका नाममा सम्बोधन गर्दै सोमबार प्रधानमन्त्रीले भने, ‘तर छिमेकी मित्रराष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनुभएको छ । परीक्षणको अभावमा महामारी तीव्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’

गत फागुन ४ गते कोभिड १९ को उद्गमस्थल चीनको वुहानबाट १७५ नेपालीलाई ल्याउनुअघि विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार चीन सरकारले स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षणमा असफल देखिएका ६ जनालाई नेपालमा संक्रमण फैलिन सक्ने आशंकामा उतै राखिएको थियो । जसका कारण उनीहरूको माध्यमबाट नेपालमा कोरोना संक्रमण भित्रिन पाएन ।

अहिले मुलुकबाहिर रहेका नेपालीहरु घर फर्किने क्रम बढेको भन्दै उनले नेपालीहरू ठूलो संख्यामा कार्यरत मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग गम्भीर संवाद गरेको बताएका छन् । यसबाहेक ‘कोभिड १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजना’ सहितको आदेश तत्काल जारी गरिने पनि प्रधानमन्त्रीले जानकारी गराए ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीलाई सरकारले समयमै उद्धार गर्छ,’ उनले भने, ‘समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ ।’

स्वदेश भित्रिसकेका दाजुभाइ, दिदीबहिनीले छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन र अन्य नियमहरुको पालना गर्न जरुरी रहेको र यसमा आवश्यक सहयोग पुर्यारउने थप दायित्व स्थानीय तहको काँधमा आइपरेको प्रधानमन्त्रीले बताए ।

‘यस्तै अवस्थामा जनस्तरमा पारस्परिक सहयोगको आवश्यकता हुन्छ । जनताबीचको आपसी सहयोग र सजगतामा मात्रै कोरोनाजस्तो महामारीको संक्रमणलाई नियन्त्रण गर्न सकिन्छ,’ उनले भने ।

कसैको पनि बोली र व्यवहारबाट घर फर्किएकाहरुको आत्मसम्मानमा चोट नपुगोस् भन्नेमा सचेत रहन उनले सबैलाई आग्रह पनि गरे ।

‘हामी स्पष्ट हुनुपर्छ, कोही पनि रहरले मात्र बिदेसिएको हुँदैन । कोरोना संक्रमण जो कसैलाई पनि हुन सक्छ । कसैले पनि इच्छाले संक्रमण बोकेर फर्किएको पनि हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘घर फर्किएका सबै दिदीबहिनी, दाजुभाइहरुलाई आफ्ना कारणले परिवार, छरछिमेक तथा समुदायमा महामारी नफैलियोस् भन्नेमा सतर्क रहन र चिकित्सक तथा प्रशासनको सल्लाहबमोजिम स्वास्थ्यसम्बन्धी अन्य नियमहरूको पालना गर्न अनुरोध गर्दछु ।’

विदेशमा रोजगारी गुमेर ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किएको र कोरोना महामारीका कारण नेपालमा कार्यरत विदेशी श्रमिक पनि ठूलो संख्यामा आ आफ्नो देशमा फर्केको या फर्कने अवस्था रहेको उनले बताए छ ।

‘मुलुकमा विद्यमान र यस्ता विभिन्न ढंगले सिर्जना भएको रोजगारीको अवसर विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीलाई उपलब्ध गराइनेछ,’ उनले भने, ‘यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालिमको व्यवस्था सरकारले गर्छ ।’

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु