गृहपृष्ठ बागलुङका पत्रकारको कोरोना बीमा
बागलुङका पत्रकारको कोरोना बीमा
कोरोना संकटका बेला अग्रभागमा खटिएर जिम्मेवारी निर्वाह गरिरहेका जिल्लाका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले ५२ जना पत्रकारको प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको हो ।
जिल्ला स्थित भीमनाथ स्मृति प्रतिष्ठानको सहयोगमा एक लाख रुपैयाँको बीमा गरिएको शाखा अध्यक्ष दिल शिरीषले बताए । बीमाका लागि चाहिने कागजात र ५२ जनाको सूची बिहीबार इन्स्योरेन्स कम्पनीलाई बुझाइएको उनको भनाइ छ । पिसिआर जाँचबाट कोरोना संक्रमण पुष्टि भएमा पत्रकारले तत्कालै एक लाख रुपैयाँ प्राप्त गर्ने बीमा कम्पनीले जनाएको छ ।
सम्झौता भएको १५ दिनपछि मात्र बीमा लागू हुनेछ । कोरोना महामारीका बेला कार्यक्षेत्रमा खटिएका पत्रकारको जोखिम न्यूनीकरणका लागि बीमामा सहयोग गरिएको प्रतिष्ठानका सदस्य गोपाल पौडेलले बताए । प्रतिष्ठानले बीमाको प्रिमियम रकम प्रतिव्यक्ति एक हजार रुपैयाँका दरले कम्पनीलाई बुझाएको छ ।
शाखा अध्यक्ष दिल शिरीषले महासघमा आवद्ध सबै पत्रकारको कोरोना बीमा गरिने बताए । ‘पहिलो चरणमा ५२ जनाको बीमा गरिएको छ, बाँकी पत्रकारको अर्को चरणमा हुन्छ,’ उनले भने ।
प्रकाशित समय ०६:५४ बजे

















