गृहपृष्ठ एकै दिन थपिए एक लाख २५ हजारभन्दा बढी कोरोनाका बिरामी, संक्रमितको संख्या ६० लाख नाघ्यो
एकै दिन थपिए एक लाख २५ हजारभन्दा बढी कोरोनाका बिरामी, संक्रमितको संख्या ६० लाख नाघ्यो
मृतकको संख्या तीन लाख ६६ हजार नाघ्यो, ३० लाखको उपचार हुँदै
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण एकै दिनमा एक लाख २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ६० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै एक लाख २५ हजार ५११ जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ६० लाख २६ हजार ४१८ पुगेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार गएको २४ घण्टामा मात्रै विश्वभर चार हजार ८१२ जनाको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर अहिलेसम्म तीन लाख ६६ हजार ४२१ जनाले ज्यान गुमाएको स्वास्थ्य संगठनले जनाएको छ । कूल संक्रमितमध्ये २६ लाख ५६ हजार १४४ जनाको सफल उपचार भएको छ भने ३० लाख तीन हजार ८५३ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ५३ हजार ७३५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
सबैभन्दा बढी फैलिएको अमेरिकामा गएको २४ घण्टामा मात्रै एक हजार २१२ जनाको ज्यान गएको छ भने २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म अमेरिकामा १७ लाख ९३ हजार ५३० जनामा संक्रमण देखिएको छ भने एक लाख चार हजार ५४२ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितमध्ये पाँच लाख १९ हजार ५६९ जनाको सफल उपचार भएको छ । त्यस्तै ११ लाख ६९ हजार ४१९ जनाको उपचार भइरहेको छ ।
ब्राजिल पनि कोरोनाको प्रकोप बढी फैलिएको दोस्रो देशको सूचीमा परेको छ । अहिलेसम्म ब्राजिलमा चार लाख ६८ हजार ३३८ जनामा संक्रमण देखिएको छ । गएको २४ घण्टामा मात्रै २९ हजार ५२६ जनामा नयाँ संक्रमित थपिएका छन् भने एक हजार १८० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ब्राजिलमा भाइरस संक्रमणबाट करिब २८ हजारको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित समय ०७:४६ बजे

















