गृहपृष्ठ रूकुम घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति
रूकुम घटनाका आरोपित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति
प्रेमिका लिन जाँदा ज्यान गुमाएका नवराज विक (बायाँ) ।
सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका- ८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम)ले बिहीबार म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी- ८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ । दुई जना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । घटनामा छ जनाको निधन भएको थियो ।
पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोतीमा रहेकी मल्ल थरकी प्रेमिका लिन जाजरकोटको भेरी नगरपालिका- ४ का नवराज विक १८ जना साथीसहित गत जेठ १० गते सोती पुगेका थिए । सो समूहमाथि गाउँलेले गरेको आक्रमणपछि भेरी नदीमा बेपत्ता नवराजसहित ६ जना मृत फेला परेका थिए ।
प्रकाशित समय १८:४५ बजे

















