गृहपृष्ठ प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित
प्रदेश सरकारले कोरोना जोखिम नियन्त्रणका लागि ५७ करोड रुपैयाँ बजेट खर्च गरे उचित ठाउँमा खर्च नभएको भन्दै सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलहरुले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रदेशसभामा अवरोध गरेका हुन् ।
सरकारले खर्चका नाममा ‘मात्रै खर्च’ गरेको तर उपलब्धिमुलक खर्च नगरेको भन्दै प्रदेशसभामा दुई प्रतिपक्षी दलले अवरोध गरेका हुन् । अवरोधपछि बुधबारको प्रदेशसभा बैठक स्थगित भएको हो । बुधबार बिहान ८ बजे सुुरु भएको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले आफ्ना कुरा राखेर लगातार अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेकाले बुधबारको प्रदेशसभा बैठक अवरोध गरिएको नेपाली कांग्रेस नेता रावलले बताए । कोरोना पोजेटिभ देखिएकालाई निको नहुँदै घर पठाउने, पीसीआर परीक्षण बढाउन माग गर्दा पनि बेवास्ता गरिएको उनले गुनासो गरे ।
प्रतिपक्षी दलहरुले कोरोना व्यवस्थापनमा प्रदेश सरकार गम्भीर बन्नुपर्ने प्रदेश सरकार सुशासन ऐनबमोजिम चल्नुपर्ने विषयमा जोड दिएका थिए । प्रदेश सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम खर्च गरे पनि संक्रमण रोक्न नसकेको र परीक्षणको दायरा बढाउन नसकेको प्रदेशसभामा प्रतिपक्षी दलको आरोप थियो । प्रतिपक्षको अवरोधपछि प्रदेशसभा बैठक असार १२ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रकाशित समय १७:२७ बजे

















