गृहपृष्ठ आइसोलेसन कक्षमै जन्मियो शिशु

आइसोलेसन कक्षमै जन्मियो शिशु

सांकेतिक तस्बिर

धौलागिरि अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचाररत कोरोना संक्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका ८ की १९ वर्षीया महिलाले बिहीबार बिहान आइसोलेसन कक्षमै छोरा जन्माएकी हुन् ।

धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेसन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत बच्चा जन्माउन सल्लाह दिए पनि पछि सामान्य प्रकारले सुत्केरी भइन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

भारतबाट घर फर्केका श्रीमान् श्रीमती दुवैलाई कोरोना पोजेटिभ देखिपछि आइसोलेसनमा भर्ना गरिएको थियो । हालसम्म बागलुङमा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्ये २३ जना निको भएर घर फर्केका छन् भने ११८ जना उपचारको क्रममा रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । (रासस)

प्रकाशित समय १९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु