गृहपृष्ठ यातायात कार्यालयबाटै कोरोना संक्रमणको जोखिम
यातायात कार्यालयबाटै कोरोना संक्रमणको जोखिम
सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भीडभाडमा रोक लगाएको छ । तर, ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा यो नियम लागू भएको देखिएको छैन । सवारी चालक अनुमति पत्र लिन र नवीकरण गर्न लाइनमा उभिनेहरूको बिहीबार ठूलो भीड देखिन्थ्यो, कार्यालय हाताभित्र ।
विश्व स्वास्थ्य संगठनले भनेको न्यूनतम सामाजिक दूरी त के, कसैलाई नछोई कार्यालय भित्र पस्न मुश्किल पर्ने देखिन्थ्यो । हुनत् कार्यालयभित्र प्रवेश गर्नेवित्तिकै सुरक्षा गार्ड स्यानिटाइजर लिएर बसेका त छन् तर बढ्दो भीडका कारण सबै हातमा स्यानिटाइजर लगाउन सम्भव देखिएको थिएन ।
सामाजिक दूरी कायम गराउनका लागि त्यहाँ रेखांकन पनि गरिएको छ । तर, कसैले दूरी कायम गरेका छैनन् । अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर सेवाग्राहीमा देखिन्थ्यो । अधिकांश सेवाग्राहीले नाक र मुख छोप्ने गरी मास्क झुन्ड्याएका थिए । तर, सामाजिक दूरी कसैले कायम गरेका थिएनन् । कसैलाई कोरोना भएको रहेछ भने अरुलाई सर्न पनि सक्छ ।
सरकारले असारको १ गतेबाट सबै सरकारी कार्यालय खुलाएसँगै यातायात कार्यालयमा सेवाग्राहीको भीड बढेको हो । अनुमतिपत्र नयाँ वा नवीकरण गर्न आउनेको संख्या बढीरहेको छ । सेवाग्राहीको भीडका कारण एकातिर संक्रमणको जोखिम बढेको छ भने अर्कातिर कतिपय सेवाग्राही काम नगरी घर फर्कन बाध्य भएका छन् । सेवाग्राहीको अत्याधिक भीडभाडका कारण प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ ।
निराश फर्कन्छन, सेवाग्राही
चालक अनुमतिपत्रका लागि झण्डै डेढ वर्ष पहिले लिएको परीक्षामा पास भएका धापाखेलका सुमन महर्जन बिहीबार चालक अनुमतिपत्र लिनका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगे । झण्डै दुई बजे पुगेका महर्जनले लाम बस्दाबस्दै पालो नआएपछि रित्तो हात फर्कनु परेको बताउँछन ।
चालक अनुमतिपत्रका लागि कार्यालयले लिएको परीक्षा पास गरेपछि उनी यस अघि नै तीन पटक त्यहाँ पुगेका थिए। अनुमतिपत्र नआएको जवाफ पाएपछि यसअघि आफू तीन पटक कार्यालय पुगेर फर्किएको उनी यस पटक भने धेरै अनुमतिपत्र छापिसकेको भन्ने समाचार सुनेर फेरि गएका हुन् ।
त्यस्तै चालक अनमतिपत्र नवीकरणका लागि कार्यालय पुगेकी सीमा भण्डारी काम नै नबनेपछि फर्किइन । अनुमतिपत्र लिन जाँदा कार्यालयमा देखिएको भीडका कारण अनुमतिपत्र नलिई फर्किएको उनी बताउँछिन् ।
सरकारले सबैतिर सामाजिक दूरी कायम गर्न भने पनि यातायात कार्यालयमा त्यसको पालना नभएको उनले बताइन । यो आर्थिक वर्षको अन्तिममा नवीकरण नगर्दा दस्तुर लाग्ने भए पनि कार्यालयको भीडले गर्दा उनी परिसरमा प्रवेश नै गरिनन् । ‘बढी पैसा लागे पनि लागोस् अहिले भीडमा नजाने भन्ने लाग्यो,’ उनले भनिन् ।
दैनिक झण्डै चार सय नयाँ चालक अनुमतिपत्र वितरण भइरहेको यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र शाखाले जनाएको छ । त्यस्तै, चालक अनुमतिपत्र नवीकरण गर्न आउनेको संख्या झण्डै दुई सयको हाराहारीमा छ । त्योभन्दा बढी सेवाग्राही आएपनि फर्किने गरेको कार्यालयको प्रमुख समरबहादुर कार्कीले बताए ।
कार्यालयसँग यति नै सेवाग्राही फर्किए भन्ने यकिन तथ्यांक नभए पनि धेरै सेवाग्राही उसै फर्किएको देखिन्छ । राजस्व बैंकमा बुझाउनुपर्ने भएकाले दुई बजेपछि आउने सेवाग्राहीको काम गर्न नसकिने कार्की बताउँछन् ।
कार्यालयमा नयाँ अनुमतिपत्र लिने र नवीकरणका लागि आउनेहरुको भीड दुबै शाखामा भएको उल्लेख गर्दै उनले भने, ‘सेवाग्राहीको भीड नियन्त्रण गर्न गाहे भएको छ ।’
कार्यालयले कोभिड–१९ को जोखिम कम गरेर सेवा दिनका लागि तयारी गरेको छ । कार्यालय हाताभित्र प्रवेश गर्दा ज्वरो नाप्ने र स्यानिटाइजरको प्रयोग गर्नेलगायतका व्यवस्था मिलाइएको छ । गोलो घेरा बनाएर सेवाग्राहीबीच सामाजिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । त्यसको पालना भने गर्न नसकिएको प्रमुख कार्कीले बताउनुभयो । कार्यालय परिसरमा चार जना प्रहरी खटिएको भएपनि उनीहरुलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको छ । उहाँले भन्नुभयो, “सेवाग्राही आफैँ सचेत नभएकाले हामीलाई बुझाउन गाहे भइरहेको छ ।”
कर्मचारीको उपस्थिति न्यून
कार्यालयमा सेवाग्राहीको भीड बढीरहँदा कर्मचारी भने सबै आइसकेका छैनन् । झण्डै ५१ जना कार्यरत कर्मचारीमध्ये अहिले ३५ जना मात्रै कार्यालयमा आएको प्रमुख कार्कीले जानकारी दिए ।
कतिपय कर्मचारी काठमाडौँ उपत्यका बाहिर टाढा जिल्लामा रहेकाले फर्कन सकेका छैनन् । कतिपय कर्मचारी जिल्लाबाट फर्किए पनि अहिले क्वारेन्टिनमा रहेकाले काममा आउन नपाएको उनको भनाइ छ । ‘सेवाग्राहीको चाप बढी भएपनि कर्मचारी कम भएकाले व्यवस्थापन गर्न गाहे भएको छ,’ उनले भने ।
कार्यालयले अहिलेसम्म दैनिक झण्डै छ सय अनुमतिपत्र वितरण गरिरहेकामा अझै झण्डै डेढ लाख अनुमतिपत्र वितरण गर्न बाँकी छ । यातायात व्यवस्था विभागले बन्दाबन्दीको समयमा समेत अनुमतिपत्र छपाई गरिरहेको थियो । गत पुस १५ सम्मको अनुमतिपत्र आइसकेको छ । त्यो अवधिमा पनि कतिपय अनुमतिपत्र प्राविधिक त्रुटिका कारण विभागबाट नआएको कार्कीले बताए ।
३८ लाख ५० हजार राजस्व संकलन
विभागले असार १ गतेदेखि विहीबारसम्ममा ३८ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षहरुमा पनि आर्थिक वर्षको अन्तिम महिनामा कार्यालयमा सेवाग्राहीको भीड हुने गरेको थियो । चैतको ११ गतेदेखि जेठसम्म बन्दाबन्दीका कारण सरकारी कार्यालय बन्द रहेको र असार १ गतेबाट कार्यालय खुलेपछि सेवाग्राहीको भीड ह्वातै बढेको बताइएको छ ।
त्यस्तै सुकेधारा, जगाती र सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयमा पनि सेवाग्राहीको ठूलो भीड लाग्ने गरेको छ । (रासस)
प्रकाशित समय १८:५१ बजे

















