गृहपृष्ठ लकडाउनयता एकै जिल्लामा २० जनाले गरे आत्महत्या

लकडाउनयता एकै जिल्लामा २० जनाले गरे आत्महत्या

सांकेतिक तस्बिर ।

दैलेखमा तीन महिनाको अवधिमा २० जनाले आत्महत्या गरेका छन् । चैत्रको ११ देखि यो अवधिसम्म १७ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार त्यसरी आत्महत्या गर्नेहरुमा ८ महिला, २ बालक र १० पुरुष रहेका छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसको १ पुरुषबाहेक अरु सबै समुदाय स्तरमा रहेकाहरुले आत्महत्या गरेको प्रहरीको तथ्याक छ । समाजसेवी बासना थापाले लकडाउन आत्महत्याका कारण बन्दै गएको बताइन् । ‘लकडाउनका बिच समुदायमा कोरोनाभन्दा अन्य धेरै समस्या देखा परेको छ । आर्थिक समस्या र मानिसहरुले एक्लोपनको महसुस गर्ने गरेका छन्,’ उनले भनिन् । अरु समयमा जस्तो दुख पर्दा छिमेकी तथा साथीहरुलाई समस्या बताउने वातावरणसमेत नहुँदा नैराश्यता बढेको उनको तर्क छ ।

कोरोनाको कारणभन्दा पनि मानिसहरु अन्य कारणले आत्महत्या गर्न बाध्य भएको पत्रकार महासंघ दैलेखका अध्यक्ष तथा सामुदायिक रेडियो प्रसारक संघ अकोराप कर्णाली प्रदेशका सचिव चक्र केसीको धारणा छ । ‘यो समयमा आर्थिक समस्या सबैभन्दा बढी छ,’ उनले भने, ‘मानसिक रुपमा समेत त्रसित हुँदा आत्महत्या हुने गरेको हुनसक्छ ।’ स्थानीय तहहरुले रेडियोलाई प्रयोग गरी मनोपरामर्श दिने खालका कार्यक्रम बजाउने र आर्थिक संकट भएकाहरुलाई समेत सहयोग गर्न जरुरी भएको उनको भनाइ छ ।

उता कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ सुशिल समदर्शीले एकातिर कोरोनाको त्रास र अर्कोतिर आर्थिक र सामाजिक समस्याको कारणसमेत मानिसहरुले आत्माहत्या रोज्ने गरेको बताउँछन् । लकडाउनको कारण तनाव बढेपछि लागुऔषध प्रयोग बढेको र जसले घरेलुहिंसा समेत निम्त्याएको उनले बताए । ‘कतिको लकडाउनको कारण औषधिसमेत छुटेको छ । पहिले उदासीन तथा मानसिक रोगको औषधि खाईरहेकाहरुको औषधि छुट्दा उनीहरुले नै आत्महत्यासमेत गरेको पाइएको छ,’ उनले भने ।

उनका अनुसार विदेश तथा भारतबाट फर्केर क्वारेन्टिनमा बसेपछि नेगेटिभ रिपोर्ट आई घर जाने वातावरण धेरैलाई छैन । समाजले कोरोनाको नाममा धेरैलाई दुव्र्यवहार गर्ने गरेको कारणसमेत आत्महत्या पछिल्लोसमय बढेको उनले बताए ।

दैलेखामा कोरोनाको कारण २ जनाको मात्रै मृत्यु भएको छ । तर कोरोना कहरका बिच २० जनाले भने आत्महत्या गरेका छन् । यो तथ्यांक हेर्दा समाजमा कोरोनाभन्दा पनि अन्य समस्या विकराल छ भन्ने देखाउँछ ।

प्रकाशित समय १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु