गृहपृष्ठ नेपाल स्वयंसेवक संघद्वारा उपत्यकाका अस्पतालमा १७ सय केस पानी वितरण

नेपाल स्वयंसेवक संघद्वारा उपत्यकाका अस्पतालमा १७ सय केस पानी वितरण

नेपाल स्वयंसेवक संघले उपत्यकाका सरकारी अस्पतालमा १७ सय केस पानी वितरण गरेको छ । संघले उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरका सबै सरकारी अस्पतालका प्रत्येक शय्याका बिरामीलाई तीन दिन लगाएर पानी वितरण गरेको हो ।

संघका अध्यक्ष सन्तोष निरौलाका अनुसार बुधबार वीर अस्पतालमा करिब साढे तीन सय केस र ट्रमा सेन्टरमा करिब डेढ सय केस पानी बाँडिएको थियो । त्यस्तै बिहीबार भक्तपुरका मानव अंक प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालमा तीन सय केस पानी वितरण गरिएको उनले बताए । ‘शुक्रबार काठमाडौँकै त्रिवि शिक्षण अस्पतालमा ६ सय केस, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एक सय केस र ललितपुरको पाटन अस्पतालमा २५० केस पानी वितरण गरेका छौँ,’ निरौलाले भने ।

संघका सदस्य पेम्बाछिरी शेर्पाको संयोजकत्वमा पानी वितरण गरिएको हो । पानी वितरण गर्न मोहन गमाल, हरि ठकुरी, मञ्जु मिश्र, सीता सुवेदीलगायतका संघका सदस्य एवं मानव सेवा आश्रमका सदस्य गएका थिए । पानी वितरणका लागि कपन गुम्बाले सहयोग गरेको छ ।

संघका अध्यक्ष निरौलाले लकडाउन सुरू भएदेखि नै चरालाई चारो र कुकुरलाई खाना खुवाउन थालेका थिए । चरा र कुकुरलाई खाना खुवाउँदै हिँड्दा भोका मानिस भेटेपछि उनले मानव सेवा आश्रमसँगको समन्वयमा मानिसलाई खाना खुवाएका थिए ।

अढाइ महिनाको अवधिमा उनीहरूले दैनिक एक हजारभन्दा बढीलाई खाना खुवाएका थिए । लकडाउनको ७५ दिनसम्ममा एक लाखभन्दा बढीलाई खाना खुवाएको अध्यक्ष निरौलाले जानकारी दिए ।

 

 

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु