गृहपृष्ठ नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा
साना उद्योगी व्यवसायीहरुको मागप्रति सरकार गम्भीर नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
व्यवसायीहरुले आफ्ना समस्याहरु जानकारी गराउँदा-गराउँदै पनि राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाको विषयमा उचित निर्णय नलिएका कारण आन्दोलनमा जान बाध्य भएको संघका अध्यक्ष नरेश कटुवालले बताए । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कटुवालले आन्दोलनमा देशभरका लाखौ साना तथा मझौला उद्योगी व्यवसायहरुको साथ रहेकोे पनि जानकारी गराए ।
पहिलो चरणको आन्दोलन शुक्रबार बिहान ९ बजे माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने, त्यसपछि पनि सरकारले व्यवसायीहरुको मागप्रति गम्भीर नबने अर्को चरणको आन्दोलनमा जाने उनको भनाइ छ ।
लकडाउन अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता तथा ब्याज तिर्ने भाका कम्तीमा एक वर्ष पछाडि सार्नुपर्ने, लकडाउन अवधिभरको व्यवसायिक घरभाडामा पूरै छुट गर्नुपर्ने महासंघले सरकारसमक्ष माग पेश गरेका छन् । यसका साथै पुनर्कर्जा कोषमा साना उद्योगी व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत गरिनुपर्ने, स्प्रेड घटाएर ३.५ कायम गर्नुपर्ने महासंघको माग छ
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रदेखि नेपालका उद्योगधन्दा तथा पसल व्यवसायहरुमा ठूलो असर परेकोप्रति उनले चिन्ता व्यक्त गरे । संकटको यो घडीमा उद्योगी व्यवसायीहरुको मुख्य चुनौतीको रुपमा घरभाडा र बैंकको ब्याजदरको विषय बनेको कटुवालको भनाइ छ ।
नेपाल राष्ट्र बैंकले चैतमा तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याजको मिति असार मसान्तसम्म पुर्याएको, कोरोना प्रभावित क्षेत्रको ब्याजमा २ प्रतिशत छुट दिन बैंकहरुलाई निर्देशन दिएको अवस्थामा सरकारले भने भाडा छुटको लागि वास्ता नगरेको भन्दै कटुवालले अब आन्दोलनमा जानुबाहेक अरु विकल्प नदेखिएको प्रष्ट पारे ।
प्रकाशित समय १८:५३ बजे

















