गृहपृष्ठ सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ६३ प्रतिशत
सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ६३ प्रतिशत
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६÷०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरी जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालुतर्फको १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० करोड ३४ लाख ३४ हजार ७११ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजारमध्ये ९ अर्ब २८ करोड ८५ लाख ७८ हजार ५८१ रुपैयाँ खर्च भएको छ ।
प्रदेशमा सबैधन्दा धेरै भौतिक पूर्वाधार मन्त्रालयले ८७.६९ प्रतिशत खर्च गरेको छ । स्थानीय तहलाई वित्तीय हस्तान्तरण ८७.५७ प्रतिशत भएको छ । प्रदेश व्यवस्थापिका सचिवालयको ७७.०५ प्रतिशत खर्च भएको छ । त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ५७.९७ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ५५.५५ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ५३.८४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ५२.९९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ४४.९२ प्रतिशत र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ३७.१४ प्रतिशत बजेट खर्च भएको प्रदेश कोष नियन्त्रक बाशुदेव जोशीले बताए ।
अहिलेसम्म सबैभन्दा धेरै १ नं. प्रदेशले ७५ प्रतिशत र प्रदेश ५ ले ७० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक जोशीले जानकारी दिए ।
प्रकाशित समय १७:०२ बजे

















