गृहपृष्ठ जाजरकोटका पहिरो पीडित : न गतिलो बास छ, न त खाने अन्न

जाजरकोटका पहिरो पीडित : न गतिलो बास छ, न त खाने अन्न

सरकारी राहत मासिक प्रतिव्यक्ति दुई किलो चामल, एउटा त्रिपालभित्र १२ जनाको परिवार

तस्बिर : हेमन्त न्यौपानेको फेसबुकबाट

बारेकोट गाउँपालिका–४, ५ र ६ का पहिरो पीडित त्रिपालमा सुत्ने बाध्य छन् । गत असार २५ गते सो स्थानमा आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो ।

पानी पर्ने बित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् । जंगलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु भन्दछन्, ‘न गतिलो बास छ, न त खाने अन्न नै छ ?’

झण्डै महिना दिन पुगिसक्दा पनि राज्यको तर्फबाट मन खुशी हुने खालको नयाँ कार्यक्रम तथा व्यवस्थापन नभएको विर्जित सार्कीले गुनासो गरे । ‘एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्दा कसरी व्यवस्थापन भएको होला ?,’ स्थानीय ७४ वर्षीय दुर्गा सार्कीले भनिन् । अधिकांश त्रिपालमा बसाइ भएकाहरु नौ जनाभन्दा माथि नै रहेका छन् ।

सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएका छन् । खानेपानीका पाइपहरु पहिरोले बगाएका छन् । खोलामा भल पिउन बाध्य भएको सर्वसाधारणको भनाइ छ । जंगलमा बास छ, कतिखेर सर्प लगायतका विषालु उभयचर प्राणी आउँछन्, के हुन्छ अत्तोपत्तो नभएको पीडितको भनाइ छ ।

जंगलभरी त्रिपाल राखेका कारण दिनमा काम जाँदा साना-साना बालबालिकालाई जंगली जनावर आएर मरिदिने डर भएको वडा नं ५ का प्रेम शाहीले जानकारी दिए । पानी पर्दा सबै पानी त्रिपालबाट घुसेर भित्र पस्दा अधिकांश दिन भोकै बस्नुपर्ने बाध्यता छ । खानेकुरा स्वरुप दिएको प्रतिव्यक्ति दुई किलो चामल उहिल्यै सकिएको स्थानीय शिक्षक तीर्थराज बोहोराले जानकारी दिए ।

पहिरोबाट बचेको मकै सलह किराले सखाप बनाउँदा हैरान भएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए । विस्थापितलाई अहिले राम्रो ओत लाग्ने आवास र खानेकुराको आवश्यकता रहेको छ । राहत वितरणमा समेत पक्षपात भएको पीडित बताउँछन् ।

वडा नं ४ को वडा कार्यालय तालाबन्दी नै गरिएको छ । वडा ५ का खड्क शाहीका अनुसार आफूहरुको नाम काटेर आफन्तको नाम राखिएको छ । पाखाटोलमा १९ जनाको नाम काटेर जनप्रतिनिधिका आफन्तको नाम राखिएको हो ।

विस्थापित बसेको जंगलमा शौचालय नहुँदा जंगलभर फोहर बढिरहेको छ । बालबालिकामा स्वास्थ्य समस्यासमेत देखिएको छ । एक हजार दुईभन्दा बढी सर्वसाधारण विस्थापित भएका थिए । (रासस)

प्रकाशित समय ०८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु