गृहपृष्ठ ‘युवाले दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्छ’
‘युवाले दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्छ’
मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उनीहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न सल्लाह दिए ।
घर बाहिर निस्कने युवाले नियमित औषधी खाइरहेका दीर्घरोगीसँग सकेसम्म नजिक नजान र घुलमिल हुन नहुने उनको भनाइ छ । अहिले नेपालमा सक्रमण युवाबाट सरिरहेकाले उनीहरुले बालबालिका र बृद्धासँग टाढा बस्नुपर्ने बताए । उनले भने, ‘सम्भव भएसम्म छुट्टै बाथरुम र छुटै कोठाको व्यवस्था गर्नुपर्छ ।’
विभिन्न किसीमका मुटुरोगीलाई आफूले खाइरहेको औषधीलाई निरन्तरता दिन पनि डा भट्टराईले अनुरोध गरे । अहिलेको समयमा चिकित्सकसम्म जान सजिलो नभएकाले खाइरहेकै औषधीलाई निरन्तरता दिनुपर्ने उहाँको सल्लाह छ । उनले भने, ‘सकेसम्म दुईतीन महिनालाई औषधी व्यवस्था गर्नु राम्रो हुन्छ ।’
अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीको पीसीआर परीक्षण गर्ने गरेको डा भट्टराईले बताए । उनका अनुसार कुनै बिरामीको आकस्मिक रुपमा शल्यक्रिया गर्नुपर्दा मात्रै परीक्षण नगरी हुने गर्छ । आफूले केही समय पहिले नसा पूरै काटिएको व्यक्तिको परीक्षण नै नगरी शल्यक्रिया गरेको उनले अनुभव सुनाए । ‘त्यो व्यक्तिको शल्यक्रिया सफल भएको थियो र कोरोना सक्रमण पनि पाइएन,’ उनले भने, ‘शल्यक्रियामा सहभागिले पूरै पीपीई लगाइन्छ भने बिरामीको पनि त्यसपछि परीक्षण गरिन्छ ।’
उनले कोभिडबिरुद्धको माहामारी सबैको भएकाले सबै मिलेर यसलाई जित्न लाग्नुपर्नेमा जोड दिए । यसको उपचारमा खटिएका आमनागरिकले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई सहानुभुति राख्नुपर्ने उनले बताए । धेरै स्वास्थ्यकर्मीले जोखिम मोलेर पनि उपचार गरिरहकेको उनको भनाइ छ । उनले भने, ‘कतिपय डाक्टर नर्सको घर भनेरै तर्सिएको पनि पाइन्छ ।’
सबै नागरिकले स्वास्थ्य सावधानीका उपाय अपनाउनुपर्नेमा डा. भट्टराईको जोड छ । भीडभाडमा सकेसम्म नजान र जानुपर्दा माक्स र सेनेटाइजरको प्रयोग गर्न उनले सबैलाई अनुरोध गरे । लामो समयसम्म कार्यालयमा बस्ने र भीडमा जानुपर्नै पेशामा व्यक्तिले घर छिर्दा लुगा बाहिर खोल्ने र हातखुटा धोएर मात्रै भित्र पस्नुपर्ने उनले बताए । उनले भने, ‘आवश्यक सबै सुरक्षाका उपाय अपनाउन सके मात्रै यसबाट अरुलाई रोग सार्नबाट बचाउन सकिन्छ ।’ उनले घरमा बसिरहेकाले स्वस्थ खानपानमा ध्यान दिनुपर्ने बताए । नुन र चिनिको मात्रा कम गरेर हरियो तरकारी र सागसब्जीको मात्राम बढाउनुपर्नै उनको सल्लाह छ । (रासस)
प्रकाशित समय ०६:३४ बजे

















