गृहपृष्ठ चित्तलको मासुसहित चार जना पक्राउ

चित्तलको मासुसहित चार जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती–६ का ३५ वर्षीया पैगी चौधरी, १९ वर्षीय साजन चौधरी, ३० वर्षीया सुमित्रा चौधरी र एक जना नाबालिग रहेका छन् । उनीहरुलाई एकता सामुदायिक वनमा पासो थापी चित्तल मारेको आरोपमा पक्राउ गरिएको हो । घटनास्थलमा गएको प्रहरीसहितको टोलीले चित्तलको मासु र चित्तल थाप्न प्रयोग भएको पासो बरामद गरेको छ ।

घटनास्थलबाट १२ किलो, पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको उनको भनाइ छ । अपराध प्रमाणित भएमा २० हजारदेखि ५० हजार रुपैयाँ सम्म जरिवाना र छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । (रासस)

प्रकाशित समय ०७:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु