गृहपृष्ठ निषेधाज्ञा अवज्ञा गर्दै नगरपालिकाको वार्षिक समीक्षा

निषेधाज्ञा अवज्ञा गर्दै नगरपालिकाको वार्षिक समीक्षा

निषेधाज्ञा गर्नुपर्छ पनि भन्ने, फेरि बैठक भेला पनि गर्ने - प्रजिअ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका निषेधाज्ञाको अवज्ञा गर्दै वार्षिक समीक्षा कार्यक्रम गरेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा पूर्णरुपमा खुला गरी कुनै पनि खालका बैठक, भेला, गोष्ठीलगायतका कार्य नगर्ने निर्णय गरेको भए पनि नगरपालिकाले नै ५० जनाभन्दा बढी कर्मचारी, वडाका शाखा प्रमुख तथा वडाध्यक्षसहित कार्यपालिका सदस्यसमेत राखेर शनिबार समीक्षा बैठक गरेको हो ।

नागरिकलाई निषेधाज्ञा र नियमनकारी निकायलाई हाइसन्चोको झल्को दिनेगरी नगरपालिकाले समीक्षा कार्यक्रम गरेको छ । भदौ १ देखि १२ गते रातिसम्म जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको निषेधाज्ञा भदौ १३ गते शनिबार खुला गरेको दिन नै नगरपालिकाले त्यसको अवज्ञा गरेको छ । वीरेन्द्रनगर नगरपालिकामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै प्रशासनले कडाइ गरेको थियो ।

समीक्षा कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका सचिव र १३ वटा शाखाका प्रमुखले वार्षिक प्रगति प्रस्तुतीकरण गरिएको नगरपालिकाका प्रशासकीय प्रमुख टीकाराम ढकालले जानकारी दिए । ‘हामीले भीडभाड गरेका होइनौँ,’ उनले भने, ‘यो आन्तरिक बैठक हो ।’

उनले नगरका १६ वटै वडाका सचिवलाई समीक्षा कार्यक्रममा सहभागी गराए पनि आफू नै कर्मचारी भएकाले कोरोनाको त्रास नहुने बताए । २०७६ साल चैतमा सरकारले लकडाउन आह्वान गर्नुअघि २५ जनाभन्दा बढी भेला नगर्ने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्थानीय सरकारले आफू सरकार भएको अनुभूति जनतालाई दिनुपर्ने बताए । ‘नियमनकारी निकाय आफूले यस्तो नगर्नुपर्ने हो,’ उनले भने, ‘निषेधाज्ञा गर्नुपर्छ पनि भन्ने फेरि बैठक, भेला पनि गर्ने ठिक भएन ।’ यस विषयमा आफूले बुझ्ने रेग्मीले बताए ।

‘उहाँहरुले स्वास्थ्य सुरक्षा विधि अपनाएरै भेला गर्नुभएको होला,’ उनले थपे, ‘सरकारले तोकेको संख्याभन्दा बढी भेला भएको छैन होला भन्ने मलाई विश्वास पनि छ ।’ उनले निषेधाज्ञा पूर्णरुपमा खुला गरिए पनि कुनै खालका भेला, बैठकलगायतका क्रियाकलाप गर्दै नगर्नु भनी निर्णय गरेको जानकारी गराए ।

नरपालिकाका तीनवटा वडा वीरेन्द्रनगर १४, १५ र १६ मा भने हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन । संक्रमणकालीन समयमा विभिन्न वडामा सुरक्षित बसेर सेवा दिएका कर्मचारी र जनप्रतिनिधिलाई भेलामा बोलाएर नगरपालिकाले जोखिम बढाएको छ ।

प्रकाशित समय १०:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु