गृहपृष्ठ ‘प्रहरी यातनाबाट मृत्यु भएका’को परिवारलाई ५ लाख राहत
‘प्रहरी यातनाबाट मृत्यु भएका’को परिवारलाई ५ लाख राहत
इलाका प्रहरी कार्यालय गरुडा, रौतहटको हिरासतमा मृत्यु भएका युवकको परिवारलाई प्रदेश २ सरकारले राहतस्वरूप ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । गरुडा नगरपालिका- ८, बसविटी जिंगडियाका १९ वर्षीय बिजय राम महराको भदौ १० गते राति प्रहरी हिरासतमै मृत्यु भएको थियो ।
पीडित परिवारलाई राहत दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र कुमार यादवले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएका हुन् । मन्त्री यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारलाई धैर्यधारण गर्न आग्रह समेत गरिएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुने प्रतिवद्धतासमेत विज्ञप्तिमा जनाइएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज डीएसपी ज्ञान कुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरमा भदौ १३ गते फिर्ता बोलाइएको छ ।
प्रकाशित समय १८:१६ बजे

















