गृहपृष्ठ विश्वभर ८ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, ६१ हजारको अवस्था चिन्ताजनक

विश्वभर ८ लाख ५० हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, ६१ हजारको अवस्था चिन्ताजनक

एक करोड ७६ लाख ९८ हजार संक्रमित डिस्चार्ज, ६८ लाख २८ हजारको उपचार हुँदै

फाइल तस्बिर ।

विश्वभर कोरोना संक्रमित आठ लाख ५० हजारभन्दा बढीको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै चार हजार १६० जनाको मृत्यु भएपछि मृतकको संख्या ८ लाख ५० हजार १४१ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार एकै दिनमा दुई लाख १८ हजार ९०३ जनामा संक्रमण भएको छ । योसँगै कुल संक्रमितको संख्या दुई करोड ५३ लाख ७६ हजार ७१९ पुगेको छ । कुल संक्रमितमध्ये एक करोड ७६ लाख ९८ हजार २४९ जनाको सफल उपचार भएको छ भने ६८ लाख २८ हजारको उपचार भइरहेको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या केही दिनयता घट्दो क्रममा छ । गएको २४ घण्टामा ३२ हजार ९०२ जनामा संक्रमण भएपछि कुल संक्रमितको संख्या ६१ लाख ७२ हजार नाघेको छ । त्यस्तै एक लाख ८७ हजार २१६ जनाले ज्यान गुमाएका छन् । आइतबार मात्रै अमेरिकामा ३६१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको यो संख्या अमेरिकामा अहिलेसम्मकै कम हो ।

त्यस्तै ३४ लाख २२ हजारको सफल उपचार भएको छ भने २५ लाख ६२ हजार सक्रिय संक्रमित देखिएका छन् । उपचाररत सक्रिय संक्रमितमध्ये पनि १६ हजारको अवस्था चिन्ताजनक रहेको छ । त्यस्तै ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या घट्दै आएको छ । दिनहुँ ५० हजारभन्दा माथि संक्रमित थपिदै आएको अमेरिकामा आज भने १५ हजारको हाराहारीमा देखिएको छ ।

गएको २४ घण्टामा ब्राजिलमा १५ हजार ३४६ जनामा संक्रमण देखिएको छ । योसँगै अहिलेसम्म ३८ लाख ६२ हजार ३११ जनामा संक्रमण देखिएको छ । त्यस्तै एक लाख २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । आइतबार मात्रै ३९८ जनाले ज्यान गुमाएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।

ब्राजिलमा ३० लाख ३१ हजार ५५९ जनाको सफल उपचार भएको छ भने सात लाख ९ हजार ८५६ जना सक्रिय संक्रमित देखिएका छन् । छिमेकी मुलुक भारतमा भने कोरोना संक्रमितको अवस्था बढ्दै गएको छ । आइतबार मात्रै अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ । एकै दिनमा ७९ लाख ४५७ जनामा संक्रमण देखिएपछि भारतमा कुल संक्रमितको संख्या ३६ लाख १९ हजार नाघेको छ ।
त्यस्तै अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६४ हजार नाघेको छ ।

गएको २४ घण्टामा मात्रै ९६० जनाले ज्यान गएपछि मृतकको संख्या ६४ हजार ६१७ पुगेको हो । भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म २७ लाख ७२ हजारको सफल उपचार भएको छ भने सात लाख ८१ हजार सक्रिय संक्रमित छन् ।

प्रकाशित समय ०५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु