गृहपृष्ठ विश्वभर एकै दिनमा थपिए तीन लाखभन्दा बढी संक्रमित, मृतकको संख्या आठ लाख ८० हजार पुग्यो
विश्वभर एकै दिनमा थपिए तीन लाखभन्दा बढी संक्रमित, मृतकको संख्या आठ लाख ८० हजार पुग्यो
संक्रमितको संख्या दुई करोड ६७ लाख ९२ हजार, ७० लाख ९ हजार संक्रमितको उपचार हुँदै
फाइल तस्बिर ।
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ लाख ८० हजार नजिक पुगेको छ । गएको २४ घण्टामा मात्रै साढे ६ हजारको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या आठ लाख ७८ हजार ३३४ पुगेको हो । त्यस्तै अहिलेसम्म संक्रमितको संख्या दुई करोड ६७ लाख ९२ हजार ७६२ पुगेको छ ।
गएको २४ घण्टामा मात्रै विश्वभर तीन लाख ८ हजार ४२९ जनामा संक्रमण देखिएको थियो । अहिलेसम्म कुल संक्रमितमध्ये एक करोड ८९ लाख चार हजार ३३६ जनाको सफल उपचार भएको छ भने ७० लाख ९ हजार ४६२ जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि ६० हजार ९०६ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ६३ लाख ८९ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ५२ हजार ८५३ जनामा संक्रमण देखिएको थियो । योसँगै अमेरिकामा ६३ लाख ८९ हजार ०५७ जनामा संक्रमण देखिएको हो । त्यस्तै अहिलेसम्म एक लाख २५ हजार ५८४ जनाको ज्यान गएको छ ।
शुक्रबार मात्रै अमेरिकामा एक हजार ३३ जनाले ज्यान गुमाए । त्यस्तै अहिलेसम्म ३६ लाख ३५ हजार ८५४ जनाको सफल उपचार भएको छ भने २५ लाख ६१ हजार ९२ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी संक्रमण संक्रमण फैलिएको दोस्रो ठूलो देश ब्राजिलमा पनि कोरोना संक्रमितको संख्या ४० लाख ९१ नाघेको छ ।
एकै दिनमा ४५ हजार संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४० लाख ९१ हजार ८०१ पुगेको हो । त्यस्तै गएको २४ घण्टामा मात्रै ८५५ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या पनि एक लाख २५ हजार ५८४ पुगेको छ ।
ब्राजिलमा अहिलेसम्म ३२ लाख ७८ हजारको उपचार भइसकेको छ भने ६ लाख ८७ हजार ९७४ जना संक्रमितको उपचार भइरहेको छ । त्यस्तै छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ८७ हजार ११५ जनामा थप संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ४० लाख २० हजार २३९ पुगेको हो । त्यस्तै गएको २४ घण्टामा मात्रै एक हजार ६६ जनाले ज्यान गुमाएका छन् ।
योसँगै भारतमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६९ हजार ६३५ पुगेको छ । भारतीय स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ३१ लाख चार हजार ५१२ जनाको सफल उपचार भएको छ भने आठ लाख ४६ हजार ९२ संक्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि ९ हजार जना संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ ।
प्रकाशित समय १०:२८ बजे

















