गृहपृष्ठ कोरोनाका कारण प्रदेश १ मा एकै दिन ४ को मृत्यु, प्रदेश २ मा मृतकको संख्या १०० पुग्यो

कोरोनाका कारण प्रदेश १ मा एकै दिन ४ को मृत्यु, प्रदेश २ मा मृतकको संख्या १०० पुग्यो

कर्णाली प्रदेशमा शनिबार नौ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोभिड– १९ बाट ५४ जना संक्रमित भएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नं २ का दुई महिला र बुढीगंगा र धनपालका एक एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्ममा यस प्रदेशमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ । तीमध्ये यस प्रदेशका स्थायी ठेगाना भएका २७ र प्रदेश बाहिरका १२ रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा एक हजार ७६१ जनाको पीसीआर परीक्षण गरिएको छ । तीमध्ये २३ महिला र ३१ पुरुष गरी ५४ को रिपोर्ट पोजेटिभ आएको छ । कोरोना पोजेटिभ देखिनेमा मोरङका ३४, सुनसरीका १३, झापाका पाँच, इलामका एक र प्रदेशबाहिरका एक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमितमा मोरङ विराटनगरका १४ महिला र १४ पुरुष, पथरीशनिश्चरेका दुई, लेटाङ, कटहरी र रंगेलीका एकएक पुरुष र जहदाका एक महिला, सुनसरीको इटहरीका दुई महिला र छ पुरुष, धरानका चार महिला र एक पुरुष, झापाको दमकका एक महिला र दुई पुरुष, विर्तामोडका एक र स्थानीय तह नखुलेका एक पुरुष, इलामको चुलाचुलीका एक पुरुष तथा प्रदेश बाहिरका एक महिलाको रिपोर्ट पोजेटिभ आएकोे छ ।

हालसम्म प्रदेशमा तीन हजार र ८७९ कोरोनाबाट संक्रमित भइसकेका छन् । आज कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १६ निको भएर घर फर्केका छन् भने हालसम्ममा एक हजार ८३५ जना कोरोनाबाट मुक्त भइसकेका छन् । हालसम्ममा यस प्रदेशमा ९७ हजार २२१ पीसीआर परीक्षण गरिएको छ ।

प्रदेश २ मा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको संख्या एक सय पुगेको हो ।

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ/आठ, रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ संक्रमित थपिएका छन् । यस प्रदेशमा अब संक्रमितको संख्या ११ हजार ६१ पुगेको छ । सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्कनेको संख्या पाँच हजार ६०२ पुगेको छ ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा शनिबार नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्तिअनुसार नौ संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई हजार ६०० नजिक पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको उनले बताए । उनकाअनुसार कोरोना संक्रमणबाट निको भएर आज दिन ४२ जना घर फर्किएका छन् । सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट छ, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए ।

शनिबार ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उनको भनाइ छ । डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लामा विभिन्न आइसोलेशनमा ३०२ जना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा प्रदेशले जनाएको छ । (रासस)

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु